गमक पोष्ट समाचारदाता / सिरहा, २९ जेष्ठ । कोभिड १९ लाई लक्षित गरी गोलबजार नगरपालिकाले सञ्चालन गरेको गोलबजार अस्थाई कोभिड अस्पताल लागि करिब ४२ लाख रुपैयाँबराबरको स्वास्थ्य उपकरण सहयोग प्राप्त गरेको छ । नगरको विकास निर्माणको बजेट कटौती गरी नगरपालिकाले आफ्नै लगानीमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरेपछि अमेरिकाको मिचिगनस्थित हेल्पिङ ह्यान्ड नेपाल च्याप्टरले स्वास्थ्य सेवा तथा उद्धार संघ (हेस्रा नेपाल) मार्फत एक सय २९ प्रकारका स्वास्थ्य उपकरण नगरप्रमुख देवनाथ साहमार्फत अस्पताललाई हस्तान्तरण गराएको हो ।
नगरप्रमुख साहले अस्पतालाई पाएको उपकरण सहयोगले अवका दिनहरुमा स्तरीय उपचार सेवाका लागि सिराहा बाहिर जान बाध्य बिरामीले राहत पाउने बताए । कोभिड– १९ को महामारी मत्थर भएपछि भविष्यमा अस्थायी कोभिड अस्पताललाई क्षेत्रीय स्तरको ट्रमा सेन्टरसहित करिब एक अर्ब रुपैयाँ लगानीमा सुविधासम्पन्न अस्पताल बनाउने योजनासहित डिपिआर बनाइएको मेयर साहले जानकारी दए । त्यसअघि हेल्पिङ ह्यान्डले हेस्रा नेपालमार्फत २४ जेठमा गोलबजार कोभिड अस्थायी अस्पताललाई करिब तीन लाख रुपैयाँ मूल्यको अक्सिजन सिलिण्डर, थर्मोगन, पिपिई, स्यानिटाइजर, सर्जिकल ग्लोब्स, सर्जिकल फेस मास्क र तीन सय थान कपडाको मास्क उपलब्ध गराएको नगरप्रमुख साहले बताए ।
जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले अस्पताल सञ्चालन विपत् प्रतिकार्यका लागि जरुरी रहेको औँल्याउँदै संक्रमित बिरामीले सहज उपचार सेवा पाउने गरी स्वास्थ्य सामग्रीको उपयोग गर्न आग्रह गरे ।
उनले जिल्लामा कोभिड सङ्क्रम विस्तारै कम हुदै गएपनि अझै नियन्त्रणमा आउन नसकेको बताए । उनले भने, ‘कुनैवेला दैनिक ७ जनासम्म मृत्युको दर घटेर अहिले दैनिक १ जनामा झरेको छ, संक्रमण दर घटेको छ, निकोहुनेको दर बढेकोभएपनि सङ्क्रमण जोखिम अझै कायम छ ।’
सङ्क्रमण जोखिम अझै रहेकाले नियन्त्रणको लागि सवै पालिका र स्वास्थ्यकर्मीहरुलाई निरन्तर लागपर्न अनुरोध गरे ।
सहयोग गरिएको सामाग्रीहरुमा हेल्पिङ ह्यान्डका नेपाल च्याप्टर प्रमुख जीवा पोखरेलका अनुसार विद्युतीय बेड, आइसियू बेड, इसिजी मेसीन लगायत अस्पतालका लागि आवश्यक एक सय २९ प्रकारका स्वास्थ्य उपकरणहरु रहेको बताए ।
‘कोभिड १९ को महामारीका वेला अस्पताललाई दिइएका स्वास्थ्य सामग्रीले नगर क्षेत्रका बासिन्दाले स्तरीय स्वास्थ्य उपचार सेवा पाउन सघाउनेछ,’ प्रमुख पोखरेलले भने, ‘सहयोगस्वरूप दिइएका सामग्रीमध्ये केही अस्पतालले गरिब विपन्न कोषमा राखेर उपचारका लागि आउने निम्न आर्थिक अवस्थाका बिरामीलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ ।’
हेस्रा नेपालका प्रमुख कार्यकारी अधिकृत जियाउद्दिन खानले गुणस्तरीय स्वास्थ्य उपचारमा सघाउ पुग्ने गरी दातृ निकायहरूसँगको सहकार्यमा संस्थामार्फत प्रदेश नम्वर २ का सरकारी स्वास्थ्य संस्थाहरूलाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराउँदै आएको बताए ।
कोभिड– १९ महामारीको दोस्रो लहरमा जिल्लामै सबैभन्दा बढी प्रभावित बनेको सिराहाको गोलबजार नगरपालिकाले आफ्नै लगानीमा १६ जेठदेखि विधिवत् रूपमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । नगरप्रमुख साहले नगर क्षेत्रसहित जिल्लाका विभिन्न ठाउँमा कोभिड संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय स्तरमै उपचार सेवा दिन अस्पताल सञ्चालन गरिएको बताए ।
कोभिड– १९ को पहिलो लहर केही मत्थर भए पनि अस्पतालको आवश्यकता महसुस गरीे आर्थिक वर्ष ०७७÷७८ को वडा क्षेत्रका लागि विनियोजन गरिएको बजेट नगर कार्यपालिकाको निर्णयमार्फत कटौती गरी गत १९ भदौदेखि अस्पताल निर्माण थालिएको नगरका प्रमुख प्रशासकीय अधिकृत उपसचिव श्रीधर केसीले बताए । उपसचिव केसीका अनुसार अस्पताल निर्माणका लागि एक करोड ३५ लाख विनियोजन गरिएकोमध्ये २३ लाखबाहेकको रकम निर्माण कम्पनीले भुक्तानी लिइसकेको छ ।
हेसरा नेपाल नामक संस्थाले कोभिड १९ उपचारमा उपयोग पुग्ने करिव ३ लाख मूल्य बराबरको विभिन्न स्वास्थ्य सामाग्री यस अघि पनि सहयोग गरेका थिए ।
गोलबजार नपा ४ का वडाअध्यक्ष राजदेव यादवको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन नगर प्रवक्ता उमेश बरालले गरेका थिए । हस्तान्तरण समारोहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका शेरगणका प्रमुख तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।