गमक पोष्ट समाचारदाता / जनकपुर, २८ जेष्ठ । धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका ५ लक्ष्मीपुरमा बाख्रा चराउन गएका ५ जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएका छन् । शुक्रवार विहान बाख्रा चराउन गएका स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनियाँ यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी नातिनी १२ वर्षीया चादँनी ठाकुर र उत्तम साह तेलीकी १२ वर्षीया छोरी ललिता साह तेलीको पोखरीमा डुवेर मृत्यु भएकी हुन ।
अनुसार माछापालनका लागि खनिएको नयाँ पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । बाख्रा चराउन गएका उनीहरु खेतमा पानी जमेको देखेपछि पौडी खेल्न थालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सोही क्रममा उनीहरु पानीमा डुवेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय धनुषाका सुचना अधिकारी एवम् डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।
डिएसपी मिश्रले भने– ‘बालिकाहरू बाख्रा चराउन गएको बेला पानी जमेको देखेपछि पौडी खेल्ने क्रममा डुबेका रहेछन् ।’ धनुषा प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहको जनाएको छ । मिश्रले उक्त पोखरी स्थानीय हुलास यादवको रहेको बताए ।
स्थानीयका अनुसार बिहान ७ जना बालिका बाख्रा चराउन भनेर घरबाट निस्केका थिए । खेतमै खनिएको पोखरीमा ५ जना नुहाउन पसे । २ जना भने ननुहाउने भन्दै उनीहरु नुहाईरहेके पोखरीको डिलमा बसेर हेरीरहे । पोखरीमा छिरेको केही बेरमा नै पाँचै जना डुब्न थालेपछि दुई जना बालिका हारगुहार गर्दै गाउँमा पुगेर घटनाबारे जानकारी गराएको स्थानीय बताए ।
गाउँलेहरु तत्कालै घटनास्थलमा पुगे पनि त्यतिबेलासम्म ढिला भइसकेको थियो । पाँचै जना बालिकाको शव पानीमा तैरिरहेको थियो । त्यसपछि स्थानीयहरुले प्रहरीलाई खवर गराएका थिए ।