गमक पोष्ट समाचारदाता / बर्दिवास, १६ जेष्ठ । महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । घर नजीकै रहेको एमपीएस इँटाउद्योगको माटोझिक्ने खाल्डोमा डुबेर रामगोपालपुर नगरपालिका ९ गोठबनौलीका रामकरण मण्डलका १० वर्षीय छोरा आशिक कुमार र नौ वर्षीय प्रेम कुमारको मृत्यु भएको हो । उनीहरु दुवै दाजुभाई हुन् ।
शनिबार साँझ वर्षाको पानी जम्मा भएको खाल्डोमा डुबेका दाजु–भाइलाई देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएपति त्यहाँँ प्राथमिक उपचारपश्चात थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पुर्याएका थिए । अस्पताल पुग्नेवित्तिकै उनीहरुलाई मृत घोषित गरिएको जिल्ला प्रहरी कायाल्य महोत्तरीका सुचना अधिकारी डिएसपी प्रकाश विष्टले जानकारी दिए ।
दुबै दाजु–भाइ खेल्दाखेल्दै खाल्डोसम्म पुगेर डुबेको स्थानीयले बताएका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।