गमक पोष्ट समाचारदाता / जनकपुर, १५ जेष्ठ । प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा–सुविधा सम्बन्धि प्रतिवेदन तयार पार्न तीन सदस्यीय उच्च स्तरीय समिति गठन गरेको छ । अस्पतालले पप्रवाह गर्दै आएको सेवा सुविधाप्रति जनगुनासो बढेपछि समग्र सुधारको भावी कार्ययोजना सहित प्रतिवेदन तयार गर्न मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको उक्त समितिलाई अस्पतालका बरिष्ठ चिकित्सकहरुको सल्लाहमा प्रतिवेदन तैयार गर्ने जिम्मेवारी दिइएको छ ।
अस्पतालको सेवा सुविधामा समस्या रहेको जनगुनासो बढे पछि मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको अवस्था बारे जानकारी लिन सरोकारवाला सहित अस्पतालका वरिष्ठ चिकित्सकहरुलाई बैठकमा बोलाएका थिए ।
मुख्यमन्त्री निवासमा आयोजित बैठकमा मुख्यमन्त्री राउतले अस्पताल कहिले सम्म र कसरी सुध्रिने प्रश्नको जवाव अस्पतालका मेसु लगायत चिकित्सकहरुसंग माग्नु भएपछि मेसु लगायतका चिकित्सकहरुले अस्पतालको वर्तमान समस्या र त्यसका समाधानका उपाय बारे आ–आफनो धारणा प्रस्तुत गरेका थिए ।
४ दिन समय सीमा पाएको समितिले अस्पतालको उपचार , कर्मचारी व्यवस्थापन , प्रतिष्ठान अन्तर्गत गए पछि गरिनु पर्ने संरचनागत परिवर्तन लगायत अन्य सुविधाहरुलाई समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएका छन् ।
बैठकमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह , प्रमुख सचिव गोकर्णमणि दुवाडी , मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, सचिव यम प्रसाद भुषाल , समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ , अस्पताल व्यवस्थापन समितिका अध्यक्ष संजय सिंह सहित समितिका पदाधिकारीहरु, आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद कुमार यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा, अस्पतालका मेसु डा. प्रमोद यादव सहित वरिष्ठ चिकित्सक एवं विभागीय प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।