गमक पोष्ट समाचारदाता / सर्लाही, ३० बैशाख । कोभिड १९ सङ्क्रमणको सङ्या दिनानुदिन बढ्दै गएपछि सर्लाहीमा १० दिनको लागि निषेधाज्ञा थप भएको छ । बिहीबार बसेको जिल्ला डीसीसीएमसीको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गइरहेकाले निषेधाज्ञाको समयअवधि थप गर्नुपरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।
निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायतकाहरु बन्द रहने जनाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनभने सञ्चालनमा रहने बताइएको छ ।
खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन हुने उनले बताए ।
सर्लाहीमा हालसम्म कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । जिल्लामा कोरोना संक्रमणबाट अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको छ ।