गमक पोष्ट समाचारदाता / सिरहा २० , बैशाख । दिगो स्वास्थ्यको आधार, आयुर्वेद उपचार भन्ने नारा सहित सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका २ पोखरभिण्डाको सामुदायिक भवनमा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । सम्पन्न शिविरमा विभिन्न प्रकारको ५ सय ८७ जना बिरामीहरुले निः शुल्क स्वास्थ्य सेवा लिएका थिए ।
आयुर्वेदको आधुनिक प्रविधिहरुद्वारा दिईएको सेवामा ग्यास्टिक , पायल्स , गठिया , मधुमेह , उच्च रक्तचाप , पिनास, दमखोकी , छाला सम्बन्धि रोग लगायतको विभिन्न प्रकारको जेनरल बिरामीहरुको आयुर्वेद विशेषज्ञद्वारा निशुल्क उपचार गरेको लक्ष्मीपुर पत्तारी गाउँपालिकाका आयुर्वेद शाखाका प्रमुख धनिकलाल यादवले जानकारी दिए ।
स्वास्थ्य शिविरमा बिरामीलाई २६ प्रकारको निःशुल्क औषधी दिईएको थियोे । कार्यक्रमको औपचारिक रुपमा उदघाटन गर्नुहुदै गापा प्रमुख रामबल्लभ साहले आयुर्वेदको उपचार दिगो र प्रभाकारी रहेकोले सेवा लिन आम सर्वसाधारणलाई अनुरोध गरेका थिए । उनले अहिले समाजमा आयुर्वेद उपचारका लागि जनचेतनाको कमी रहेकोले जनचेतनाका लागि गाउँपालिकाले प्रयास गरिरहेको बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमिन्त्रा लामा लेखापाल नरेश कामती , योजना शाखाका प्रमुख चन्देश्वर यादव लगायत गाउँपालिका जनप्रतिनिधि , कर्मचारीहरुको उपस्थिति रहेको थियो । दुई जना डाक्टर , बरिस्ठ कविराज निरीक्षक ३ जना , कविराज ५ जना , बरिस्ठ बैध निरीक्षक ८ जना लगायतका जनशक्तिले संयुक्त रुपमा बिरामीको स्वास्थ्य सेवा दिईएको आयोजक लक्ष्मीपुर पत्तारी गाउँपालिका आयुर्वेद शाखाले जनाएको छ ।
शिविरमा सिरहाको लहान , मिर्चैया, गोलवजार, बर्दिवासका बरिस्ठ कविराजहरुद्वारा विरामीको स्वास्थ जाँच गरेको जनाईएको छ । शिविरमा पर्सा , पोखरभिण्डा , रामपुर , पिप्रा , धन्छबार टोलका बिरामी लाभान्वित भएका थिए ।