गमक पोष्ट समाचारदाता /  काठमाडौं, १९ बैशाख । पर्याप्त सुरक्षा मापदण्ड नअपनाउँदा र विदेशबाट आएकाहरु घरमा गएर कोरेन्टीन नबस्दा पछिल्लो दिनहरुमा कोरोना सङ्क्रमणको दर उच्च बन्दै गईरहेको छ । वितेको २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १ सय ४७ पीसीआर परीक्षणमा ७ हजार १ सय ३७ जना र ६ सय २३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४८ हजार ७ सय ११ पुगेको छ । जसमध्ये तीन हजार ५ सय ३० जना संस्थागत आइसोलेसनमा छन् । ४५ हजार १ सय ८१ जना होम आइसोलेसनमा रहेको छ । उपचाररत संक्रमितमध्ये ४ सय ७७ जना आईसीयूमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ६ सय १२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ ।