गमक पोष्ट समाचारदाता / लहान १६ , बैशाख । सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नम्बर - २ पर्सा टोलमा बैशाख १० गते भएको भीषण आगलागीले पीडित बनेका ८ घर - परिवारका सम्पूर्ण सदस्यहरुलाई गाउँपालिकाले कपडा सहयोग गरेको छ । ८ घर - परिवारका ३४ जनालाई बुधबार गाउँपालिका अध्यक्ष रामबल्भ साहले कपडा सहयोग गरेको हो । साडी, धोती , जिन्स पाईन्ट , सर्ट, पाईन्ट लगायत सबै सदस्यको उमेरको आधारमा एक सेट विभिन्न खाले नयाँ कपडाहरु सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।
आठ घर - परिवारलाई ८ वटा तन्ना सहित २१ वटा म्याट समेत सहयोग गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुमित्रा लामाले जानकारी दिनुभयो । आगलागीले लत्ताकपडा, घर सहित सम्पुर्ण धनमाल नष्ट भएको थियोे । यस अघि बैशाख ११ गते गाउँपालिकाले प्रती परिवार २५ केजि चामल ,२ केजि दाल , २ किलो नुन , १ लिटर खानेतेल , आधी किलो स्वाविन , २ वटा सावुन , १ वटा त्रिपाल पीडित परिवारलाई वितरण गरेको थियो ।
सोही दिन वडा अध्यक्ष धर्मेन्द्र राय दनुवारले आफ्नो ब्यक्तिगत तर्फबाट पीडित परिवारलाई नगद एक हजार को दरले जम्मा रु आठ हजार राहत स्वरुप सहयोग गर्नुभएको थियो । पालिका अध्यक्ष रामबल्लभ साहले आगलागी बस्तीको स्थलगत अनुगमन गरी आगलागी पिडित प्रती परिवार १० हजारको दरले गाउँपालिकाबाट चेक दिने घोषणा गर्नुभएको छ । उनले सबै पीडित परिवारको घर निर्माणका लागि सरोकारवाला निकायहरु बिच पहल गरिरहेको बताए ।
पीडित परिवार र गाउँपालिकाले ८ परिवारको ६० लाखको क्षति भएको जनाउदै आएको भएपनि जिल्ला प्रशासन कार्यालय सिरहाले ६ घर - परिवारको २० लाख मात्र क्षति भएको जनाएको छ भने जिल्ला प्रहरी कार्यालय सिरहाले १५ लाख ९० हजार मात्र क्षति भएको बताउदै आईरहेको छ ।