गमक पोष्ट समाचारदाता / काठमाडौं १३ बैशाख । सोमबार अवेर वसेको मन्त्रिपरिषद्को बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले कोभिड–१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार निर्णयलाई सदर गर्दै तत्कालको लागि देशैभरका विद्यालयहरु बन्दगर्ने निर्णय गरेको हो । बैठक कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा केन्द्रित थियो ।
आजको मन्त्रिपरिषद बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार सीसीएमसीले पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमितको संख्या नाघेमा १६ गतेबाट निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिन गरिएको सिफारिस पनि बैठकले पारित गरेको छ ।
उपत्यकाकामा निशेषज्ञा जारी गरिएको छ । बाँके, बर्दिया र सुर्खेतमा पनि निशेषज्ञा छ । मोरङ, पर्सा, कास्की, दाङ र रुपन्देहीमा पनि संक्रिय संक्रमितको संख्या ५ सय बढी छ भने कैलालीमा ४ सय ५८ र चितवनमा ४ सय ८८ छन् ।
मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ । आन्तरिक उडान र अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने निर्णय भएको बताइएको छ ।