गमक पोष्ट समाचारदाता / लहान, १३ वैशाख । शिक्षा ऐन तथा नियमावलि विपरित शिक्षक सरुवा वदरको माँग गर्दै सिरहाको लहानका शिक्षकहरुले नगरपालिका विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । नगरपालीकाले शिक्षा नियमावली र ऐन विपरीत पटक पटक गरी गरी एक सय ३२ जना शिक्षकहरुलाई सरुवा गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए पठनपाठन अवरुद्ध गर्ने पत्रकार सम्मेलन मार्फत चेतावनी दिएका हुन् ।
नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संघ, संघीय समाजवादी शिक्षक फोरमले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाले नियम विपरित गरेको शिक्षक सरुवा फिर्ता नलिए २२ गतेदेखि नगरक्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक शैक्षिक संस्था बन्द गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा जारी संयुक्त प्रेस विज्ञप्तिमा शिक्षा ऐन २०२८ को दफा १६ (ज) र शिक्षा नियमावलीको नियम ९९ बमोजिम शिक्षकहलाई सरुवा गर्ने अधिकार हालको अवस्थामा शिक्षा विकास तथा समन्वय इकाइमा रहेको, स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११.२ (ज) मा आधारभूत र माध्यमिक शिक्षकहरुलाई सरुवा गर्ने अधिकार नहुँदा नहुँदै पनि नगरपालिकाले सरुवा गरेको प्रति रोष प्रकट समेत गरेका छन् ।
नगरपालिकाले चैत्र १३ गते १३ जनाबाट सुरु भएको सरुवा प्रक्रिया वैशाख १२ गतेसम्म आइपुग्दा १ सय ३२ जनाको सरुवा भएको जनाइएको छ । जसमध्ये ५ जना राहत कोटाको शिक्षक र ३ महिनापछि सेवा अवकाश शिक्षक समेत रहेको नेपाल शिक्षक संघका अरविन्द कुमार दासले जानकारी दिए ।
आफूहरु अन्यायमा परेको भन्दै नगरपालिकाले गरेको सरुवा फिर्ता लिन तथा न्यायिक छानविनका लागि उक्त संघ संगठनले गत शुक्रबार लहान नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाएका थिए ।
लहान नगरपालिकाका नगरप्रमुख मुनी साहले राजनीतिक प्रतिशोधको कारणले आफू निकट भन्दा बाहिरका शिक्षकहरुलाई छानि छानि सरुवा गरेको उनीहरुको आरोप रहेको छ ।
लहान नगरक्षेत्रभित्र ५९ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमध्ये मा.वि. ८ वटा र ५१ वटा आधारभूत आधारभूत विद्यालय रहेका छन् । ती विद्यालयमा नगरले २०७७ वैशाखदेखि हालसम्म तलव वाहेका कुनै पनि रकम पठाएका छैनन् ।
लहान नगरपालिकाका शिक्षा संयोजक राजकुमार साहले नगरपालिकाको अधिकार प्रयोग गरेर शिक्षक सरुवा गरेको जिकिर गरे । उनले नगरपालिकाले गरेको निर्णय विपरित जाने जोकोहीलाई नगरपालिकाले नियम संगत ढंगबाट अगाडि बढ्ने बताए । शिक्षा संयोजक साहले विद्यालयहरुलाई पटक पटक विद्यालयको डाटा माग्दा समेत उपलब्ध नगराएकोले शिक्षक तलव वाहेक कुनै पनि रकमहरु विद्यालयमा पठाउन नसकिएको जानकारी दिए ।