गमक पोष्ट समाचारदाता / काठमाडौं, १२ बैशाख । कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण बढेसँगै कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्र (सीसीएमसी) ले चलिरहेका सबै तहका परीक्षा तत्काल रोक्न सिफारिस गरेको छ । सीसीएमसीको आइतवार बसेको बैठकले परीक्षाका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै सबै परीक्षा रोक्न सिफारिस गर्ने निर्णय गरेको हो ।
संङ्क्रमणदर निरन्तर बढीरहेकोले परीक्षाको माध्यमबाट संङ्क्रमण अझ बढ्ने भएकाले उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले भोलि सोमबारबाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेर्को जानकारी दिए ।
बैठकले नेपाली नागरिक बाहेक अरू देशका नागरिकलाई स्थलमार्गबाट नेपाल प्रवेशमा रोक लगाउने भएको छ । कोरोना महामारी बढेको अवस्थालाई ध्यान दिएर नेपाली नागरिक बाहेक अरू देशका व्यक्तिलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा रोक लगाउनका लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय भएको बताइएको छ ।
यस्तै नेपाललाई ट्रान्जिट बनाएर विदेश जानेहरूलाई पनि रोक्न सिफारिस भएको छ । सीसीएमसीले तराईका जिल्ला वा सहरी क्षेत्रमा पाँच सय जना सक्रिय संङ्क्रमण देखिएमा या पहाडी जिल्लामा दुई सयभन्दा धेरै सक्रिय संङ्क्रमीत भएमा सम्बन्धित स्थानीय प्रशासनले निषधाज्ञा लगाउन सक्ने अधिकार दिन पनि सिफारिस गरेको छ ।
अव तोकिएको संख्याभन्दा बढी सक्रिय सङ्क्रमित भएमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन सक्ने छन् ।