गमक पोष्ट समाचारदाता / काठमाडौं, ८ बैशाख । सरकारी कार्यालय कहिले सर्वसाधारणको घरसम्म आफै पुगेर गुर्जाेको चिया र गुर्जाेको विरुवा बाँड्न व्यस्त आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख कमलबहादुर राजलवट अझै सक्रिय रुपमा यसलाई निरन्तरता दिएको छ ।
बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय प्रमुख राजलवटले कोरोना संक्रमित बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको ललिलतपूरको सुनाकोठीस्थित उनको निवासमै पुगेर श्रेष्ठसहित उनका ५ जना परिवारलाई गुर्जाेको चिया खुवाएका हुन् ।
कोरोना संक्रमितलाई केही खुवाउन त परै जाओस्, संक्रमितको नजिक सम्म पुग्न व्यक्तिहरु डराईरहेका बेला कर प्रमुख राजलवट आफै बरिष्ठ हास्य कलाकार श्रेष्ठको घरमा पुगेर आफ्नै हातले बनाएको गुर्जाेको चिया पिउन दिए ।
सो क्रममा बरिष्ठ हास्य कलाकार श्रेष्ठको परिवारलाई गुर्जाेको चिया खुवाउनुको साथै अक्सिजन बढाउन तथा फोक्सोलाई बलियो बनाउन सहयोग हुने खालको प्रणायम समेत गराएको प्रमुख राजलवटले बताए ।
संक्रमित भएका बेला संक्रमित व्यक्तिलाई अन्य कुरा भन्दा काउन्सलिङ्ग तथा मनोवल उच्च पार्न सक्ने वातावरण आवश्यक रहेको प्रमुख राजलवटको भनाई छ ।
गुर्जाेले नागरिकहरुको स्वास्थ्यमा पार्ने प्रभावका साथै त्यसको प्रयोगका बारेमा राजलवटले कार्यक्रममा करका विषयसँग जोडेर जानकारी गराउँदै गुर्जाेको नियमित सेवन गर्नेहरु बिभिन्न रोगबाट मुक्त हुने बताए ।
प्रमुख राजलवटले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, कर्मचारीहरु, योग गुरु तथा स्वामीहरु, अस्पतालमा उपचारार्थ विरामीहरु, कोरोनाको समयमा संक्रमित ब्यक्तिहरु, आईसोलेसन तथा क्वारेन्टाईनमा रहेका विरामीहरुलाई गुर्जाेको चिया पिउन दिएका थिए । गुर्जाे सहितको धुलो औषधी तथा गुर्जाेको चिया प्याकेट समेत उनले निशुल्क वितरण गर्दै आएको छ ।
शरिरमा हुने हरेक खालका रोगहरुसँग लड्न सक्ने शक्ति प्रदान गर्ने गुर्जाेको महत्व, प्रयोग गर्ने तरिका र त्यसका फाईदाका बारेमा राजलवटले कार्यालयमा आउने सेवाग्रहिलाई समेत बुझाउँदै आएको छ । उनीसँगै कार्यालयका कर अधिकृत प्रभा ढुङ्गाना, चन्दा खकुरेल, सुभाष खत्री सहित अन्य कर्मचारीहरुले समेत उनको गुर्जाे अभियानमा साथ दिइरहेका छन् ।