गमक पोष्ट समाचारदाता / सिरहा, ७ बैशाख । मिचैया नपा ७ फूलबरिया लिकटोलका शिवकुमार यादवको हत्याका दुवै अभियुक्तलाई कारगार चलान गरिएको छ । २४ वर्षीय यादव हत्याका दुवै अभियुक्तलाई जिल्ला अदालत सिरहाले मंगलबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

हत्याका अभियुक्त मृतकका आफ्नै ठूलोबुवाको छोरा २७ वर्षीय विष्णु यादव र उनका जेठान मिर्चैया ९ का २४ वर्षीय इन्द्रदेव यादवलाई कारागार चलान गरिएको अदालतले जनाएको छ । शिवकुमारको शव बीभत्स हत्या भएको अवस्थामा गत ८ चैतको बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका १ छेउको आँप बगैँचामा जनीकै रहेको पुरानो घरमा पुरिएको अवस्थामा फेला परेको थियो ।
शिवकुमार हत्याको ५ दिनपछि प्रहरीले दुवै अभियुक्त लाई पक्राउ गरी सार्वजनिक गरेका थिए । उनीहरूमाथि अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा चलाएको थियो । शिवकुमारको हत्या आफूहरूले नै गरेको उनीहरूले प्रहरीसमक्ष बयान दिएको वताइएको छ ।

लेनदेनको विषयमा भएको विवादका कारया उनीहरुको परिवारिक कलह रहेको बताइएको थियो । सोही रिसिइबीका कारण विष्णुले जेठान इन्द्रदेवको सहयोगमा शिवकुमारको हत्या गरेको प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।