गमक पोष्ट समाचारदाता / सिरहा, ६ वैशाख । सिरहा अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण देखिएपछि अस्पतालको एमेरजेन्सी सेवाबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेका सेवा बन्द गरेको हो ।
संक्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरु समेत रहेकाले तत्काललाई अस्पताल शिलगरी आकस्मिक सेवामात्र संचालन गरिएको छ ।
केन्द्रको निर्णयपश्चात् उक्त अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । उक्त अस्पतालमा रोगनिवारक औषधी छर्केपछि पुनः सञ्चालनमा ल्याइने केन्द्रले जनाएको छ । केन्द्रका संयोजक तथा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आवतजावत हुने सम्पूर्ण नाकामा कडाई गर्न सशस्त्र प्रहरी बल नेपालका साथै नेपाल प्रहरीलाई समेत निर्देशन दिइसकेको बताए ।
हाल जिल्लामा एक महिला सहित ७ जना कोरोनाका सक्रिय संक्रमित रहेको बताइएको छ ।