गमक पोष्ट समाचारदाता / सिरहा, ५ बैशाख । सिराहामा बोक्सी आरोप लगाउँदै आफन्तले नै महिलालाई यातना दिइएको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । औरही गाउँपालिका–५ की ५० वर्षीया हिरादेवी साहलाई शनिबार बिहान बोक्सी आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र कोच्यायको आरोपमा आफ्नै भतिजा २९ बर्षिय घुरन साहलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् ।
प्रहरीले घटना बाहिर आएपनि त्यसका बास्तविकता बुझ्न बाँकी रहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदिप राजभण्डारीले प्रहरीमा घटनाको विषयमा आधिकारीक जानकारी वा उजुरी नआएको भन्दै पीडित महिलालाई जिल्लामा ल्याउने प्रयास भईरहेको जानकारी दिए । घटनामा संलग्न रहेको उनकै भतिजा घुरनलाई नियन्त्रणमा लिएको र अन्य भागेको बताए । उनले भने, ‘हामीले पीडितलाई यही झिकाएर जानकारी लिँदैछांै त्यसपछिमात्र घटनाबारे केही भन्न सकिन्छ ।’
यता, पीडित हिरादेवीले गाईलाई टुना गरेर मारेको आरोपमा जेठाजुका छोरा र बुहारीले कुटपिट गर्दै मानव मलमूत्र खुवाएको हीरादेवीले जानकारी दिइन । भतिज घुरन साहले कुटपीट गर्दै भुइँमा लडाएपछि बुहारीहरू कौशिला, निशा र कविताले जबर्जस्ती मानव मलमूत्र मुमा कोचेको बताइन ।
हीरादेवीका श्रीमान् रामचलितर साह रोजगारका क्रममा भारतको चण्डीगढमा छन् । उनी छोराछोरीसहित घरमा बस्दै आएकी छन् । दुई छोरी र एक छोरामध्ये जेठी छोरी मात्र घरमा भएको मौका पारी आफूमाथि अमानवीय काम गरेको भन्दै उनले दोषीलाई कारबाहीको माग गरेकी छिन् । तर, घटना लुकाउन हीरादेवीलाई स्थानीयले दबाब दिएको बताइएको छ ।
स्थानीयको दवावका कारण उनी प्रहरीमा जान नसकेपछि प्रहरी आफै उनको घरमा पुगेको छ ।