गमक पोष्ट समाचारदाता / सिरहा, १ बैशाख । सुनसरीको दुहबीबाट ४६ लाखको खानेतेल बोकेर स्याङ्जा वालिङ्गको लागि लगिएको तेल बाटोमै गायव भएको छ । चैत २४ गते सुनसरीबाट स्याङ्जाको लागि लगिएको तेल सिरहाकै विभिन्न बजारहरुमा विक्रि भएको हो । ट्रक भने केही कार्टुन तेल सहित मंगलबार धनुषाको ढल्केबरबाट वेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ ।
बरामद गरिएको २० कार्टुन तेल इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ ।
प्रहरीले तेल बेचेको आशंकामा सोही तेलको मार्केटिङ गर्ने सिरहा लहान नपा २३ का रजनीकान्त नायकलाई नियन्त्रणमा लिएको छ । नायकले ट्रक चालक र सह चालक वा अन्य व्यक्तिको संग्लनतामा तेल चोरी गरी बेचेको हुनसक्ने प्रहरीको अनुमान छ । सिरहाको लहान, सुखीपुर, गोलबजारमा तेल बिक्री भएको सूचना पाएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
प्रहरीले तेल खरिद गरेका केही व्यवसायीहरुसँग पनि सोध पुछगरी छाडेको एक स्रोतले बताएको छ । तर, प्रहरीले भने यस विषयमा केही बताउन चाहेन ।
ट्रकमा २२ सय कार्टुन पशुपति उद्योगका ‘हेलो सनफलाबर’ खानेतेल करिब ४६ लाख रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदीपराज भण्डारीले जानकारी दिए । फेला परेको ट्रक र तेल खरिद बिक्री भएको सूचनाको आधारमा छानबीन भइरहेको उनले जानकारी गराए ।