गमक पोष्ट समाचारदाता / लहान, २९ चैत । सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका २ सोठियाइन गाउँकी ४३ वर्षीया महिलाको उपचालमा अस्पतालले लापर्वाही गर्दा मृत्यु भएको परिवारले आरोप लगाएका छन् ।
रोजगारीको शिलशिलामा कुवेतमा रहेका श्यामचन्द्र यादवकी पत्नी करिब ४३ वर्षीया रामवती यादवको आइतबार बिहान लहानस्थित सप्तऋषि अस्पताल परिसरमा मृत्यु भएपछि आफन्तले दिउँसो नाराबाजी समेत गरे । ‘बिरामी आमाको अवस्था कस्तो छ, बरु बाहिर लैजान्छु भन्दा ठीकै छ, यही निको हुन्छ भन्दै तीन दिनसम्म अल्मल्याए’ मृतककी छोरा कृष्णदेव यादवले भने ‘आइतबार बिहान डिस्चार्ज गरिदिन्छौं भनेका थिए, उपचारमा लापर्वाहीले आमाको मृत्यु भयो ।’
यादवका अनुसार अन्तिम अवस्थामा आइतबार बिहान विराटनगर रेफर गरिदिएपछि एम्बुलेन्समा चढाउन नपाउँदै रामवतीको मृत्यु भएको थियो । ‘अक्सिजन घटेको बिरामीलाई एम्बुलेन्ससम्म ल्याउँदा अक्सिजन दिइएको थिएन’ उनले भने ।
२६ चैतको दिउँसो पेट दुखेर अस्पताल भर्ना गरिएकी रामवतीको रक्तचाप, सुगर बढ्नुका साथै अक्सिजनको मात्रा घटेपछि आइसियुमा राखेर उपचार गरिएको अस्पतालका फिजिसियन डा. सन्देश रौनियारले बताए । ‘तीन दिनसम्मको उपचारको क्रममा बिरामीको अवस्था सुधार हुँदै गएको थियो’ डा. रौनियारले भने ‘शनिबार रातीदेखि फेरि पेट दुख्यो भनेपछि म स्वयम् आएर बिरामी हेरें, परिवारको आग्रहमा रेफर गएिको थियो, अनपेक्षित घटना भयो ।’
घटनाको छानबिन, दोषीमाथि कारबाही, मृतकलाई क्षतिपूर्ति एवम् अस्पतालको अनुमति खारेजीको माग गर्दै आफन्तले शव नउठाउने अडान लिएका थिए तर आइतबार साँझ अस्पताल प्रशासन र मृतक परिवारको छलफलपछि मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको छ । अस्पताल प्रशासनले उचित क्षतिपूर्ति उपलब्ध गराउने कवोल गरेपछि आफूहरु पोष्टमार्टम गराई शव बुझ्न तयार भएको मृतककी छोराले उल्लेख गरे ।