गमक पोष्ट समाचारदाता / सिरहा, २७ फागुन । धनगढीमाई नगरपालीकाका मेयर हरिनारायण चौधरीले नैनपुर अस्पतालको नव निर्मित आकस्मिक कक्ष (एमेरजेन्सी वार्ड) नवनिर्मित भवनको आज एक समारोह विच उद्घाटन गरेका छन् । नगरक्षेत्रका जनताको सहज स्वास्थ्यसेवामा पहुँच पुर्याउने उदेश्य सहित धनगढीमाई नपा ९ नैनपुर अस्पताल प्राङ्गणमा नगरपालीकोको २० लाख ५० हजार लागतमा निर्मित भवनको एक समारोविच उद्घाटन गरेका हुन् ।
नीजि स्वास्थ्य संस्थाका महगो उपचारले आहात जनताले नगरपालीले अस्पताल सञ्चालन गरेपछि राहत महसुस गरेको मेयर चौधरीले बताए । उनले नीजि स्वास्थ्यसंस्थामा महगो उपचारका कारण सर्वसाधरण जनता मारमा परेको बेला निःशुल्क तथा न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि उपचार गराउन आउनेको संख्या बढेको जनाए ।
उद्घटन मन्तव्यको क्रममा मेयर चौधरीले अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्य कर्मचारीहरुलाई ‘मूस्कान सहितको सेवा ’ प्रदान गर्न निर्देशन सहित दिए । उनले २ वर्षसम्म यहाँका स्वास्थ्यकर्मिहरुले दिएको गुणस्तरीय सेवाकै कारण उपचारमा आउनेको संख्यामा वृद्धि भएको चिकिर गरे ।
मेयर चौधरीले आस्मिक कक्ष सञ्चालनको लागि निक साइमिन इन्सिच्यूट नामक संस्थाले २० लाख मूल्य वरावरको स्वास्थ्य उपकरण, एक जना चिकित्सक सहितको कर्मचारी सहयोग गरेको बताए । उनले सो अवसरमा सहयोग गर्ने संस्थालाई धन्यवाद प्रदान गरेका थिए ।
उद्घाटन कार्यक्रममा उपमेयर फूलकुमारी श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष प्रकाश योञ्जनले अस्पतालमा अन्य पालीकाबाट समेत उपचारको लागि आउने गरेको बताए । उनले यहाँका गुणस्तरीय सेवाका कारण सीमाक्षेत्रबाट समेत सुत्केरी गराउन आउने गरेको जनाए । अध्यक्ष योन्जनले सुरुवाती दिनहरुमा २५/३० जनाको उपचारका लागि आएपनि अहिले सयको हाराहारीमा दैनिक उपचारका लागि सेवा ग्राही आउने गरेको बताए ।
सो क्रममा प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रशाद वगाले, डा. राधेश्याम शर्मा, डा. प्रतिक्षा मिश्र लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।