गमक पोष्ट समाचारदाता / सिरहा, २५ चैत । जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले समाजिक सहिस्णुता कायम राख्न धार्मिक जागरण आवश्यकताको विषय रहेको बताएका छन् ।
सिरहाको मिर्चैया नगरपालिका–४ वाह्रविगहा बगैंचामा आयोजित ११ दिने विष्णु महायज्ञको विधिवत् उद्घाटन गर्दै नेता यादवले यस्तो बताएका हुन् । समाजमा आधुनिकतासँगै धार्मिकता धरापमा परेको भन्दै धार्मिक जागरण कार्यक्रम समाजमा अहिले आवश्यक रहेकोे औल्याए ।
उनले यस्ता कार्यक्रमले समाजमा सद्भावको विकास र शान्ति कायम गर्ने विश्वास व्यक्त गरे । धार्मिक कार्यक्रमले समाजबाट अशान्ति हट्ने र समतामूलक समाजको निर्माण हुने प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डल बताउँछन् ।
समाजमा हुने गलत कार्यहरू यस्ता धार्मिक कार्यक्रमले न्यूनीकरण हुने उनको धारणा छ । भौतिक विकासले मात्रै देश र समाज समृद्ध नहुने भन्दै सामाजिक रुपान्तरणका लागि युवा पुस्ता अगाडी आउनुपर्ने प्रदेश सांसद दिलिप साहले बताए ।
बैशाख ४ गतेसम्म चल्ने यो महायज्ञ स्थानीय दाताहरुकै सहयोग र अगुवाइमा आयोजन गरिएको छ । यहाँ पहिलोपटक आयोजित महायज्ञमा विभिन्न देवीदेवताका गरी १२१ मूर्तिहरु निर्माण गरिएको छ ।
महायज्ञमा विविध प्रकारका खेल, तमासा तथा धार्मिक कार्यक्रम आयोजन पनि गरिएको आयोजकले जनाएको छ । महायज्ञमा तान्त्रिक बाबाले कथा वाचन तथा विशेष प्रवचन दिनेछन् ।
११ दिने महायज्ञको भव्य व्यवस्थापन गरिएको आयोजक समितिका अगुवा तथा वडा ४ का वडाध्यक्ष दिनेश यादवले जानकारी दिए । महायज्ञमा बाहिरबाट आएका भक्तजनका लागि पनि उचित व्यवस्था मिलाइएको उनले बताए ।
शान्ति सुरक्षालाई मध्यनजर यज्ञस्थलमा प्रहरी परिचालन गरिएको उनले जनाए । पौराणिक धार्मिक मान्यता सम्वद्र्धन तथा सामाजिक सद्भाव अभिवृद्धिका लागि महायज्ञ आयोजना गरिएको समितिले बताएको छ ।