गमक पोष्ट समाचारदाता
राजविराज, ९ चैत । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गिरीराजमणि पोखरेलले कम्युनिष्ट पार्टी एकताको सम्भावना अझै कायम रहेको बताएको छ । जनयुद्धका क्रममा सहादत प्राप्त बेद प्रसाद भट्टराई (बादल) को आज सप्तरीको सुरुङ्गा नगरपालिका १ शिशुवारीमा शालिक अनावरण गर्दै पुर्वमन्त्री पोखरेलले नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समुह लगायत सबै कम्युनिष्ट शक्तिहरुसँग नयाँ ढङ्गले एकताको सम्भावना रहेको बताएको हो ।
माओवादी, काँग्रेस र जसपा तीनै दल मिलेर सरकार बनाउनु अहिलेको आवश्यकता रहेकाले काँग्रेस र जसपा पनि त्यसका लागि तयार हुनुपर्ने उनले बताए । जसपा लगायतका मधेश केन्द्रीत दलहरुले उठाएका माँगहरुलाई सकारात्मक रुपमा लिएर अघि बढ्न आफ्नो पार्टी तयार रहेको पूर्वमन्त्री पोखरेले जनाए ।
“हाम्रो बीचमा थुप्रै मतभेदहरु हुन सक्छ, मतभेद हुदाँहुँदै पनि हामी मिलेरै संबिधान बनाएका हौं”, उनले भने, ‘अझै पनि हाम्रो बीचमा थुप्रै मतभेदहरु छन्, तर ती मतभेदहरुका बीच पनि संबिधानको रक्षा र जनताको हितका लागि तीनै दल मिलेर सरकार बनाउन अग्रसर हुनुपर्छ ।’ अहिले निर्वाचनको पक्षमा नभई २ बर्ष साझा एजेण्डा सहित संयुक्त सरकार चलाउने पक्षमा काँग्रेस र जसपा पनि अग्रसर हुन उनको आग्रह थियो ।
सहिदहरुको बलिदानीबाट प्राप्त भएका उपलब्धीहरुलाई समाप्त पार्ने षडयन्त्रप्रति पार्टी सचेत रहेको बताँदै पुर्वमन्त्री पोखरेलले सहिदहरुलाई सम्झिने र सहिद परिवारलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री विश्वनाथ साहले मुलुकमा प्राप्त भएका उपलब्धीहरुलाई समाप्त पार्न देशी विदेशी शक्तिहरुबाट ठुलो चलखेल भईरहेको आरोप लगाए ।
नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा आयोजित शालिक अनावरण कार्यक्रममा प्रदेशसभा सदस्य रुवी कर्ण, सुरुङ्गा नगरपालिका प्रमुख मुक्तिनाथ चौधरी, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत, नेकपा माओवादी केन्द्रका नेता असर्फी सदा, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्वसभापति प्रकाश खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा जनयुद्धका क्रममा सहिद भएका र बेपता परिवारलाई दोसल्ला ओढाएर पुर्वमन्त्री पोखरेलले सम्मान गरेका थिए ।