गमक पोष्ट समाचारदाता
जनकपुर, २९ फागुन । महोत्तरीको पिपरा गाउँपालिका ५ सोहडवाका मुसाफिर झा र उनकी पत्नी गीता देवीको अवस्था सार्वजनिक गर्न माग गर्दै जनकपुरमा टायर बालेर प्रदर्शन भएक छन् ।
फागुन १० गतेबाट घरमै सुतिरहेको अवस्थामा वेपत्ता भएको झा दम्पतीको अवस्था सार्वजनिक गर्न माग गर्दै जनकपुरमा प्रदर्शन गरेको हो । उनीहरुको अवस्था १९ दिनदेखि बेपत्ता छन् । झा दम्पती बेपत्ता भएको घटनामा प्रहरीले चासो नदेखाएको र प्रहरीको भूमिकामाथि प्रश्न उठेको भन्दै विभिन्न संघ संस्थाका प्रतिनिधि तथा आफन्तले जनकपुरको जिरोमाइलमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
यसअघि झाका आफन्तले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा धर्ना दिएका थिए ।
प्रहरीले यसअघि नै घटनाको अनुसन्धान नजीक पुग्न लागेको बताउँदै आएपनि अवस्था अझै सार्वजनिक गर्न सकेको छैन । बेपत्ता झा दम्पती प्रहरीले घटनाका सम्बन्धमा अझैसम्म कुनै ‘क्लू’ समेत भेट्टाउन सकेको ब्ुझिएको छ ।
उनीहरूको हत्या गरी पोखरीमा फालेको हुनसक्ने आशंकामा प्रहरीले दर्जनौँ पोखरीमा डुंगा र जाल बिछ्याएर सर्च अपरेसन चलाएको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । विष्टका अनुसार विभिन्न ठाउँमा खाल्डो खनेरसमेत उनीहरुको खोजीकार्य भइरहेको छ ।
अनुसन्धानको क्रममा प्रहरीले हालसम्म ३० जनाभन्दा बढीलाई पक्राउ गरी सोधपुछ गरेको छ । तीमध्ये चार जनालाई हिरासतमा राखिएको छ ।
झाका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित चार जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले हिरासतमा राखिएका चारै जनाको पोलिग्राफ टेस्ट समेत गरिएको बताइएको छ ।