सरोज नेपाल

ब्रह्माण्डमा पाइने विविध वनस्पतिमा कतिपयले औषधिजन्य पदार्थको कार्य गर्छन् त कतिपय विषाक्तसमेत हुन्छन् । तिनैमध्ये कतिपय यस्ता जडीबुटी पनि छन्, जसलाई राम्रोसँग चिनेर प्रयोगमा ल्याउन सके अनेकौँ रोगको सहजै निदान गर्न सकिन्छ । कोरोना महाव्याधिसँगै थुप्रै जडीबुटीजन्य वनस्पतिको खोजी र प्रयोगमा बढोत्तरी भएको छ । थुप्रै जडीबुटी रोग प्रतिरोधात्मक शक्ति वृद्धि गरी सङ्क्रमणजन्य रोग रोकथाम गर्न महत्वपूर्ण साबित भएका पनि छन् । यस्तै अचुक जडीबुटीमध्ये हाम्रै भान्सामा नियमित प्रयोग हुने ‘लसुन’ पनि स्वास्थ्यको दृष्टिकोणले महत्वपूर्ण छ ।
लसुन प्रायजसो सबैको करेसाबारीमा पाइने र सहजै उत्पादन गर्न सकिने एकप्रकारको वनस्पति हो । नेपाली परिवेशमा यसलाई मसलाका रूपमा तरकारीमा प्रयोग गरिन्छ । किसानले खेतबारीमा काम गर्दा चिउरामा लसुनको टुक्रा राखेर खाने परम्परा रहिआएको छ । योबाहेक लसुनको अचारलगायतका परिकारसमेत सुप्रसिद्ध छन् । विभिन्न समुदायमा धार्मिक तथा आर्थिक महत्व बोकेको लसुन स्वास्थ्यको दृष्टिकोणले ज्यादै महत्वपूर्ण मानिन्छ ।
परम्परादेखि नै मसलाका रूपमा लसुनको सर्वत्र प्रयोग हुने गरेबाट नेपाली भान्छामा यसको महत्व उल्लेखनीय छ । एकातिर स्वादिष्ट परिकारको सारथि लसुन अर्कोतर्फ औषधीय गुणले समेत उत्तिकै बहुउपयोगी छ । लसुनको नियमित सेवनले विभिन्न रोगबाट मुक्ति पाउनुका साथै दीर्घजीवनसमेत प्राप्त गर्न सकिन्छ भन्ने तथ्य विज्ञानले समेत पुष्टि गरिसकेको छ ।
ल्याटिन भाषाको ‘अल्लियम स्याटिभुम’ वैज्ञानिक नाम गरेको लसुनमा अलिसिन, अजोइनलगायतका थुप्रै सल्फरयुक्त तत्व यसमा पाइन्छन् । लसुनको पोटी काटेपछि यी सल्फरयुक्त रासायनिक पदार्थको परिवर्तनले लसुनको गन्ध निस्किने र पिरो हुने गर्छ । यो अलिसिन नामक पदार्थमा एन्टिब्याक्टेरियल गुण हुनुको साथै दुखाइ र पोलाइमा समेत फाइदा गर्छ । तर, पकाएको लसुनमा अलिसिन नामक पदार्थ नष्ट हुने भएकाले यसको गन्ध आउँदैन । त्यसैले उपचारका लागि काँचो लसुनमात्र प्रयोग गर्नु उचित हुन्छ । वनस्पतिविज्ञका अनुसार लसुनको नियमित सेवनले सूर्यबाट आउने अल्ट्राभाइलेट विकीरणको नकारात्मक असरबाट बचाई छालाको सुरक्षासमेत गर्छ । शरीरका विभिन्न कोषलाई उत्प्रेरित गरी शरीरका सबै कार्यप्रणालीलाई पुनर्ताजकीकरण गर्छ । लसुनको नियमित सेवनले जुनसुकै उमेर समूहमा पनि रोग प्रतिरोधात्मक शक्ति बढ्ने वैज्ञानिक तथ्य छ । लसुन सेवनबाट हाड जोर्नी दुख्ने, मधुमेह, ग्यास्ट्रिक, निमोनिया, रुघाखोकी, टाउको दुखेको, जिउ दुखेको, विभिन्न कीराको टोकाइ तथा मिर्गौला र मुटुसम्बन्धी रोगमा समेत फाइदा पुग्छ । विशेषगरी लसुनले रुघा लागेको अवस्थामा रोग प्रतिरोधात्मक क्षमताको विकास गरी तन्दुरुस्त हुन मद्दत गर्छ । सुत्केरी महिलालाई पनि ज्वानो र लसुनको सुप बनाई खुवाउँदा निकै फाइदा पुग्छ । यसरी दिनहुँ दुई÷तीन पोटी लसुन सेवन गर्नाले गिजा सुन्निएको समस्या ठीक हुनुका साथै खाना नरुच्ने, सास गन्हाउने तथा शरीरमा देखिने स–साना बिमिरा हराएर जान्छ ।
रगतका नलीलाई सफा र फराकिलो पार्ने तथा रक्तचाप काम गर्नेजस्ता जटिल कार्य लसुनको नियमित सेवनबाट हुने गर्छ । यसले रगत सफा गर्छ र बढी शुद्ध तथा पातलो बनाउने कार्य गर्छ । लसुनले पिसाबलाई शुद्ध राख्न मद्दत गर्नुका साथै अनिद्रालगायतका समस्याका लागि समेत अचुक औषधिका रूपमा प्रमाणित भइसकेको छ । अतः नियमित रूपमा लसुनको सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणले अति नै उपयोगी मानिन्छ ।
                                                      (लेखक विज्ञान विषयको विद्यार्थी हुनुहुन्छ ।) गोरखापत्र अनलाईनबाट