गमक पोष्ट समाचारदाता
सिरहा, १३ माघ । पछिल्लो करिव तीनसाताभन्दा लामो समयदेखि लाग्ने बाक्लो हुस्सु र शितलहरले जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालीकाले तीन दिनका लागि सवै विद्यालय विदा दिने भएको छ । सिरहा नगरपालीकाले चिसोका कारण विद्यालयमा अध्ययन–अध्यापन गर्न कठिनाई भईरहेकाले तीन दिनको लागि विद्यालय विदा दिने निर्णय गरेको हो ।
नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवद्वारा जारी सूचनामा ‘शैक्षिक क्यालेन्डर २०७७ को वर्षे विदाबाट कट्टाहुनेगरी माघ १४ देखि १६ गते सम्म नगरक्षेत्रका सवै विद्यालयहरु जाडो विदा गर्न गराउन सम्बन्धित सवैलाई जानकारीको लागि अनुरोध गर्दछु,’ भनिएको छ ।
बेलुकादेखि नै बाक्लो हुस्सु र तुसारो परेर अत्यधिक चिसो हुन थालेको छ । चिसोका कारण विद्यालयमा विद्यार्थीको कम उपस्थिति हुन थालेपछि विद्यालय तत्कालका लागि विदा गर्न नगरपालीकाले भनेको हो ।
चिसो बढेपछि सर्वसाधारण बजार, चोक चौराहमा कम देखिएका छन् । चिसोले सवैभन्दाबढ दैनिक ज्याला मजदुरी गरेर खानेहरुको जनजीवन प्रभावित भएको छ ।






















