अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा पछिल्लो २४ घन्टा भन्दा लामो समयदेखि कोभिड–१९ को कुनै लक्षण नदेखिएको उनका चिकित्सकहरूले जनाएका छन् ।
त्यसअवधिमा ट्रम्प ज्वरोबाट पनि मुक्त रहेको उनीहरूको भनाइ छ ।
राष्ट्रपतिका चिकित्सक सीन कोन्लीका अनुसार ट्रम्पमा पहिचान गर्न सकिने तहमा भाइरसलाई परास्त गर्न सक्ने एन्टिबडी देखिएको छ ।
कोन्लीले अस्पताल लगिएयता ट्रम्पलाई अतिरिक्त अक्सिजन दिन नपरेको जानकारी दिए । शुक्रवार अस्पताल भर्ना गरिएका ट्रम्प सोमवार फर्किएका थिए ।
ह्वाइट हाउसले जनाए अनुसार ‘ब्रिफिङ’ को निम्ति ट्रम्प ओभल कार्यालय फर्किएका छन् ।
डा. कोन्लीले भने, ‘अक्सिजन र स्वासप्रश्वास दर लगायत सबै परीक्षण र महत्त्वपूर्ण सूचक स्थिर तथा सामान्य श्रेणीमा छन्।’
उनका अनुसार सोमवारको प्रयोगशालाको परिणामले राष्ट्रपतिमा कोरोनाभाइरसलाई परास्त गर्ने एन्टिबडी पहिल्याउन सकिने स्तरमा फेला परेको देखाएको छ। गत बिहिवार एन्टिबडी पहिचान गर्न नसकिने तहमा झरेको थियो ।
शरीरले सङ्क्रमण विरुद्ध लड्न एन्टिबडी बनाउँछ र रगतमा कोरोनाभाइरस एन्टिबडी देखिनुले कुनै व्यक्तिमा भाइरस थियो भन्ने सङ्केत दिन्छ ।
तर त्यसको उपस्थितिले उक्त व्यक्तिमा भाइरसको सङ्क्रमण फेरि हुन्छ कि हुन्न भन्ने अझै अस्पष्ट छ।

                                                                                                         वीवीसी नेपाली अनलाईनबाट