विराटनगर, ८ असोज । किट अभावमा प्रदेश १ का दुईवटा ल्याबबाट कोरोना परीक्षण बन्द भएको छ । पीसीआर परीक्षण गर्ने किट नपाएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र झापाको कन्काई ल्याबबाट परीक्षण बन्द गरेको हो ।
परीक्षणमा आवश्यक पर्ने किट सरकारले उपलब्ध नगराएकोले समस्या भएको बीपी प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा सबैभन्दा धेरै पीसीआर परीक्षण हुने क्षमताको ल्याब सञ्चालनमा थियो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले संघीय सरकार र प्रदेश सरकारले किट नपठाउँदा परीक्षणमा कठिनाई भएको बताएका छन् ।
उता झापाको कन्काई ल्याबबाट समेत परीक्षण हुन सकेको छैन । किट नभएका कारण त्यहाँ एकका लागि एक अभियानअन्तर्गत जनताले लगानी गरेर बनाएको ल्याबबाट पीसीआर परीक्षण बन्द भएको छ । कन्काईमा दैनिक ९० वटासम्म नमुना परीक्षण हुँदै आएको थियो ।
बीपी प्रतिष्ठानमा भने पीसीआर परीक्षण नहुँदा शल्यक्रिया प्रभावित बन्न पुगेको छ । आकस्मिक कक्ष, शल्यक्रिया, हाडजोर्नी, प्रसूति वार्ड, बच्चा वार्डलगायतका वार्डमा भर्ना भएका शल्यक्रिया गर्नु पर्ने बिरामीको पीसीआर परीक्षण नुहँदा सेवा प्रभावित बन्न पुगेको हो ।
प्रतिष्ठानले निःशुल्क गर्दै आएको पीसीआर परीक्षण बन्द भएको र अब सशुल्क दुई हजार रुपैयाँ शुल्क लिएर फेरि परीक्षण सेवा सुरु गर्ने बताएका छन् । सरकारबाट रिएजेन्ट उपलब्ध नहुन्जेलसम्मलाई निःशुल्क परीक्षण गर्न नसकिने प्रतिष्ठानले सूचना जारी गरी जनाएको छ ।
विराटनगरस्थित प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले अहिले प्रयोगशालाले मात्र कोरोना परीक्षण गरिरहेको बताएका छन् । रिएजेन्ट केमिकल उपलब्ध नहुँदा अन्य ल्याबमा समेत परीक्षण बन्द हुने अवस्थामा आएको उनले बताए ।
यता विराटनगरस्थित कोसी अस्पताललाई निजी क्षेत्रले सहयोग संकलन गरी उलब्ध गराएको मेसिन सञ्चालनमा आउन नसक्दा पीसीआर परीक्षणको काम नै शुरु हुन सकेको छैन ।
गत भदौ २६ गते विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र निजी क्षेत्रका उद्योगी व्यापारीहरुको तर्फबाट उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले संयुक्त रुपमा एक्सट्राक्ट मेसिन कोसी अस्पताललाई हस्तान्तरण गरेका थिए । तर, अस्पतालले सबै प्राविधिक पक्षम मिलाउन नसक्दा त्यो मेसिनबाट कोरोना परीक्षणको काम नै शुरु हुन सकेको छैन । अस्पतालका मेसु डा. चुमनलाल दासले परीक्षणको काम चाँडै सुरु गर्ने मेसिन बुझ्दाखेरी नै बताएका थिए ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर कोरोना संक्रमितको संख्या ६ हजार ६४ पुगेको छ । हालसम्म १ लाख १८ हजार ८१० जनाको पीसीआर परीक्षण भएको छ । बिहीबारमात्र प्रदेशमा ७ सय ९४ जनाको पीसीआर परीक्षण भएको र तीमध्ये ४७ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ मन्त्रालयले जनाएको छ ।