सिरहा, ७ असोज । सिरहका कोरोना संक्रमित एक पुरुषको मंगलबार राती मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत औरही गाउँपालीका ३ का घर भई गोलबजार नपा १ भुल्के बस्दै आएका ५० वर्षिय पुरुषको मृत्यु भएको हो ।
गत सोमबार धनगढीमाई नपाको जिरोमाईल बजारमा तरकारी बेच्न आएका बेला लडेर वेहोस भएका उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारको लागि विराटनगर लगिएको बताइएको छ । लडेर बेहोस भएको अवस्थामा स्थानीय स्वास्थ्यसंस्थामा पुर्याउँदा उनको रक्तचाप अत्यधिक रहेको पारीवारीक स्रोतले जनाएको छ ।
मस्तिष्क घात भएको र उनको मस्तिकमा रगत जमेकोले अप्रेशनको लागि भन्दै विराटनगरस्थित न्युरो अस्पतालले उनलाई थप उपचारको लागि धरान पठाएको आफन्तललाई उद्धरित गर्दै गोलबजार स्वास्थ्यशाखाका प्रमुख सरोज कर्णले बताए । उपचारकै क्रममा विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना पुष्टि भएपछि न्युरो अस्पतालले सोही दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको थियो । उनको राती १ बजेतिर मृत्यु भएको बताइएको छ ।