काठमाडौं, ६ असोज ।

भारतमा पतिले धारिलो हतियारले पेट चिरिदिएकी एक गर्भवतीले मृत बच्चा जन्माएको प्रहरीले जनाएको छ।
ती महिलाको माइती पक्षले शिशुको लिङ्ग पहिचान गर्न उनलाई आक्रमण गरिएको आरोप लगाएको छ।
ती दम्पतीका पाँच जना छोरी रहेका र ती पुरुषले छोरा जन्माउन पत्नीलाई दबाव दिने गरेको उनीहरूले बताएका छन् ।
पक्राउ परेका ती पुरुषले भने उक्त घटनालाई दुर्घटनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको बताएका छन् ।
घटना उत्तर प्रदेशको बदायूँ जिल्लाको हो।
प्रहरीले बीबीसीलाई बताएअनुसार पेट चिरिएकी महिलालाई राजधानी दिल्लीस्थित अस्पतालमा राखिएको छ र उनको स्वास्थ्य अवस्था स्थिर छ ।
उनका भाइका अनुसार स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि चिकित्सकहरूको सल्लाहमा उनलाई दिल्ली पुर्‍याइएको थियो।
स्थानीय सञ्चारमाध्यमलाई ती पुरुषले धारिलो हतियार प्रहार गरेको तर त्यसले उनलाई गम्भीर चोट लाग्न सक्छ भन्ने कुरा भने नचिताएको बताएका छन् ।
भारतीय अभिभावकहरूमा छोरीको सट्टा छोरा जन्माउने चाहनाले गर्दा त्यहाँ महिला र पुरुषको सङ्ख्यामा असमानता देखिएको छ।
भारतमा पछिल्लो ५० वर्षमा करिब चार करोड ६० लाख बालिका ूगायब भएकोू एउटा राष्ट्रसङ्घीय निकायको प्रतिवेदनमा उल्लेख छ ।
प्रत्येक वर्ष करिब ४,६०,००० बालिकाहरू गर्भपतनको सिकार हुन्छन्। त्यस्तै लापरबाहीका कारण छोरीहरूको जन्म पछि मृत्यु हुने दर पनि उच्च छ ।
सन् २०१८ को भारत सरकारकै एउटा प्रतिवेदनका अनुसार छोरा पाउने चाहनाका कारण दुई करोड १० लाख केटीहरूको ूइच्छाविपरीतू जन्म भएको छ।
अर्थ मन्त्रालयको प्रतिवेदनका अनुसार कैयौँ दम्पतीले छोरा नपाउँदा सम्म बच्चा पाउने गरेको पाइएको छ।
बीबीसीकी एक सम्पादक गीता पाण्डेका अनुसार छोराले भविष्यमा आर्थिक रूपमा परिवारलाई सघाउने, बुढेसकालमा अभिभावकलाई हेर्ने र वंश अघि बढ्ने विश्वासका कारण धेरैले छोरा नै चाहन्छन्।
अर्कोतर्फ छोरी विवाह गरेर अर्काको घर जाने र अभिभावकहरूले दाइजोस्वरूप ठूलो धनराशि खर्च गर्नुपर्ने हुँदा समस्या बढेको बताइन्छ।
                                                                                                   विविसी नेपाली अनलाईन सेवाबाट