धरान/ धरान कोरोना सङ्क्रमणको ‘हटस्पट’ बन्ने क्रममा रहेको विश्लेषण गर्न थालिएको छ । हालसम्म ४६ जना सङ्क्रमित पुष्टि भएकोमा १७ जनामा त एउटै उद्योगबाट फैलिएको पाइएको छ । बाँकीमध्ये तीन जनालाई कसरी फैलियो भन्ने कुनै सुराक पाउन सकिएको छैन । एउटै परिवारका तीनदेखि पाँच जनासम्मलाई सङ्क्रमण भएको छ ।

कोरोना सरेको सुराक पाउन नसक्नु झन् ठूलो समस्या हो । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसम्म धरानमा कोरोना सङ्क्रमित देखिएनन् । तर लकडाउन खुला भएको घोषणा हुनासाथ सर्वसाधारणदेखि शिक्षितहरू समेत सलह जस्तै बेपरबाह हिँडडुल गर्न थालेपछि भने एकपछि अर्को गर्दै धरानमा सङ्क्रमितको सङ्ख्या बढ्यो ।

हालसम्म धरानभित्र २ हजार १ सय ७९ जनाको थ्रोट स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पठाइएको छ । तीमध्ये ७ सय ७९ जनाको रिपोर्ट आउन अझै बाँकी छ ।

यसबीचमा १० दिनअघि धरान–१३ जिरोपोइण्टका एक युवा कोरोना सङ्क्रमित भएको पाइएपछि उनका सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा धरान–८ तीनकुनेस्थित धरान औद्योगिक क्षेत्रमा पुगेर ठोक्कियो । पानीको धाराको टुटी निर्माण र उत्पादन गर्ने अशोक अग्रवालको स्वामित्वमा रहेको प्रिती भल्व उद्योगमा कार्यरत अन्य कर्मचारीहरूको पनि स्वाब सङ्कलन गरेर पीसीआर जाँच गर्दा अरू पाँचजना थपिए ।

ती पाँच जनाको क्लोज कन्ट्याक्टमा आएजतिको कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा धरान–१५ बाँझगरा दन्तकाली चोक, धरान–३ गौधारा, धरान–९ सब्जीमण्डी, धरान–१०, धरान–८ लगायत विभिन्न स्थानका ११ जना पहिचान भए । पहिचान भएका सबै प्रिती भल्वबाट फैलिएका थिए ।

तर उपमहानगरपालिकाकी महिला कर्मचारी, उनको १० वर्षीय छोरा ती महिलाकी आमालाई भने कसरी कोरोना सङ्क्रमण भएको हो भन्ने अहिलेसम्म पहिचान गर्न नसकिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेह मेहताले बताए ।

उनले भने, ‘२९ जना त भारतलगायत विदेशबाट आएकाहरूमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनीहरू त काठमाडौं र सीमानाका हुँदै वराहक्षेत्र नगरपालिकास्थित चतराको होल्डिङ सेण्टरमा राखेर त्यसपछि धरान–१७ स्थित एन्फा क्वारेण्टिनमा बसेपछि गरिएको पीसीआर जाँचमा कोरोना देखिएको हो । तर १७ जना भने प्रिती भल्वमा कार्यरत कामदारहरूबाटै धरानका विभिन्न क्षेत्रमा फैलिएको देखिएको छ । बाँकी तीन जनामा कसरी कोरोना फैलियो भनने पहिचान गर्न सकिएको छैन ।’

उनले धरानमा समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको अनुमान वा विश्लेषण भने गर्न सकिने जनाउँदै किटानीसाथ भन्न नसकिने पनि बताए । स्थानीयस्तरमै कोरोना फैलिएको हो कि होइन भन्नका लागि हाल जारी रहेको रेण्डम मास टेस्टिङ कार्यक्रममार्फत् बनेको समन्वय समितिले बुझाउने प्रतिवेदनले मात्र किटान गर्न सक्ने मेहताले बताए ।

उनले भने, ‘रेण्डम मास टेस्टिङ समन्वय समिति छ । त्यसमा प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका चार जना विशेषज्ञ चिकित्सक, माइक्रोबायोलोजिष्टहरूले डाटा विश्लेषण गर्नेछन् । त्यसपछि मात्र धरानमा समुदायस्तरमा कोरोना फैलिएको हो कि होइन भन्ने थाहा हुन्छ ।’

यद्यपि पछिल्लो समयमा धरान औद्योगिक क्षेत्रको प्रिती भल्वबाट कोरोना फैलिएको देखिए पनि बीपी प्रतिष्ठानभित्रै आवासीय रूपमा बस्दै आएकामध्ये दुई पुरुष चिकित्सक, एक महिला चिकित्सकका श्रीमान्, एक जना चिकित्सकका श्रीमती, एक जना इण्टर्न चिकित्सक, दुई जना एमबीबीएसका विद्यार्थी गरी सात जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

प्रतिष्ठानभित्रको आवासमा बस्नेहरूलाई कहाँबाट सङ्क्रमण भयो भन्ने पहिचान गर्न अझै सकिएको छैन । चिकित्सकहरूलाई ओपिडीमा उपचार गर्न आउने कुनै बिरामीबाट पनि सङ्क्रमण हुन सक्ने तथा प्रतिष्ठान र धरान बाहिर गएर फर्कंदा पनि कसै न कसैबाट सङ्क्रमण भएको अनुमान मात्र गर्न सकिएको छ ।

एक अनुमान अनुसार धरानमा जताततै भुसको आगो झैं कोरोना फैलिएको विश्लेषण गर्न थालिएको छ । प्रतिष्ठानमा उपचार गर्न आएकालाई भर्ना गरिएपछि शल्यक्रिया गर्ने बेलामा पीसीआर जाँच गर्दा बेग्लाबेग्लै समयमा तीन जनामा कोरोना सङ्क्रमण भएको पाइएको थियो ।

सबैभन्दा पहिलो करिब दुई महिनाअघि धनकुटाबाट सुत्केरी हुन आएकी एक महिलामा सङ्क्रमण देखिएको थियो । त्यसपछि हाडजोर्नी विभागको अब्जर्भेसन वार्डमा भर्ना भएका एक पुरुषमा र गत बिहीबार सर्जरी विभागको युनिट १ मा भर्ना भएका एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको थियो ।

बिरामीलाई पनि थाहा नहुनु र चिकित्सकलाई पनि पूर्व जानकारी नहुँदा अरू नै रोगको उपचार गर्ने क्रममा पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ नतिजा आउँदा अस्पतालमा भर्ना भएर बसेका ती सङ्क्रमितबाट अरू कति जना चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, उनीहरूका आफन्त र अरूमा सङ्क्रमण फैलियो भन्न सकिने अवस्था छैन ।

कोरोना सङ्क्रमितहरू जताततै देखिन थालेकाले धरानलाई ‘हटस्पट’ हुनबाट बचाउन र आफू, आफ्नो परिवारलाई सुरक्षित गर्न कम्तिमा दुई मिटरको दूरी कायम राख्ने, अनिवार्य फेस मास्क प्रयोग गर्ने र स्यानिटाइजर वा साबुन पानीले हात नियमित सफा गर्ने एकमात्र विकल्प रहेको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा. सञ्जीव शर्माले बताए ।

उनले भने, ‘एक प्रकारले भन्ने नै हो भने कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको मान्न सकिन्छ । तर अहिले लकडाउन गरिएको अवस्था छ । यो बीचमा पीसीआर टेष्ट बढीभन्दा बढी गरेर सङ्क्रमितको पहिचान र कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ । यति पनि गर्न नसकिए हार खाएर हात उठाउने बाहेक अर्को उपाय छैन ।’