काठमाडौं, ६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ दुई दिने भारत भ्रमणका क्रममा आज आइतबार अपरान्ह नयाँ दिल्ली प्रस्थान गर्दैछन्। दिल्लीमा साढे २५ घन्टा बिताएर उनी सोमबार साँझ स्वदेश फर्किंदैछन्।

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री बालेनलाई आफ्नै स्टाटस भारी परेको छ। डेढ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जान लागेका बेला बालेनले ‘भारत र चीनले नेपालको लिपुलेक नाकाबाट व्यापार व्यवसाय सञ्चालन गर्न लागेका छन्, यसले नेपालको सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, लिपुलेक नेपालको हो भनेर चीनलाई सम्झाइदिन नबिर्सिनुहोला’ भनेर फेसबुकमा स्टाटस लेखेका थिए। आज उनै बालेन प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा जाँदैछन्। 

balen sarkar

भारत भ्रमणमा जाँदा आफू मेयर भएको बेला कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्सा र लिपुलेकबारे कसरी कुरा राख्लान् भन्ने चासो बढेको छ। आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा बालेनको पुरानो स्टाटस राखेर सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई स्मरण गराउने क्रम बढेको छ।

विगतमा देशका प्रधानमन्त्री कुनै देशको औपचारिक भ्रमणमा जाँदा छलफल गर्ने प्रचलन थियो। तर यसपटक बालेनले त्यसलाई भत्काएका छन्। पुरानो परम्परा तोडेका छन्। राष्ट्रपतिसँग छलफल गरिएन। संसदमा रहेका प्रमुख दलसँग कुनै संवाद गरिएन। मात्र सत्तारुढ रास्वपा सभापति रवि लामिछानेसँग परामर्श गरियो। 

भ्रमणपूर्व राष्ट्रपतिदेखि संसद्मा रहेका दलहरुसँग कसैसँग पनि कुनै छलफल र परामर्श भएन। कूटनीतिमा निरन्तरता र राष्ट्रिय सहमतिले ठूलो महत्व राख्दछ। 

देशभित्र सामान्य छलफल पनि नगरेका प्रधानमन्त्रीसँग कुनै पनि दीर्घकालीन सहमतिपत्र वा सम्झौतामा हस्ताक्षर गर्ने नैतिक तथा राजनीतिक सामथ्र्य हुँदैन। त्यसबाट भोलिका दिनमा थप विवाद सिर्जना हुन सक्छ। उनले संसदमा यसबारे जवाफ दिनैपर्ने हुन्छ। त्यसै पनि गत जेठमा बालेनले भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको भनेर अप्रमाणित अभिव्यक्ति संसदमै दिएर विवादमा परिसकेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कूटनीतिमा चतुर मानिन्छन्। कसलाई कस्तो व्यवहार गर्ने भन्ने विषयमा उनी भलीभाती जानकार छन्। उनले बालेनका कार्यशैलीबारे निरन्तर जानकारी लिइरहेका छन्। त्यसैले बालेनको भारत भ्रमण उपलब्धिमूलक हुनेमा धेरै आशंका जन्माएको छ।

(न्युज कारखाना)