काठमाडौं, ९ कात्तिक। एमाले नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा आयोजित एक समिटमा दिएको अभिव्यक्ति नेपालको स्वाभिमानमा आँच पुग्ने खालको भएको टिप्पणी गरेका छन्।
वाग्लेले हालै नयाँ दिल्लीमा ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भनेर भारतको गुणगान गरेका थिए। जुन अभिव्यक्तिलाई लिएर अहिले सर्वत्र आलोचना भइरहेको छ। भारतको प्रिय बन्न खोज्दा वाग्लेले नेपालसहित आफ्नो इज्जत पनि धुमिल बनाएको भन्दै उनको आलोचना भइरहेको छ। यही क्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीको कडा खाले टिप्पणी आएको हो।
‘अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँ दिल्लीमा ‘नेपालमा भारत विरोधी राष्ट्रवादको युग सकियो’ भनेर दिएको अभिव्यक्ति गैर–कुटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं हितमा आँच पुर्याउने खालको छ। विदेशी भूमि कुनै पनि सरकारी पदाधिकारीका लागि आफ्नो मुलुकको राजनीतिका आन्तरिक मतभिन्नताहरुबारे बोल्ने थलो होइन,’ ज्ञवालीले भनेका छन्, ‘नेपालमा कहिल्यै ‘भारत विरोधी राष्ट्रवादको युग’ थिएन । नेपालले जहिल्यै सार्वभौम समानता र पारस्परिक हित एवं सम्मानमा उभिएको मित्रतापूर्ण सम्बन्ध चाह्यो र आज पनि त्यही चाहन्छ। कुनै व्यक्ति या समूह विशेषले राख्ने दृष्टिकोण आफैमा कुनै ‘युग’ होइन। त्यसले समग्र राष्ट्रको प्रतिनिधित्व पनि गर्दैन।’
नेता ज्ञवालीले अर्थमन्त्री वाग्लेले कुन‘‘युग’ को कुरा गरेको भन्दै प्रश्नसमेत गरेका छन्।
‘नेपाल र भारतका बिचमा कतिपय समस्या छन्। सीमा समस्या, सुरक्षा छाताको आभाष दिने १९५० को सन्धिका कतिपय प्रावधान, अनुदार वाणिज्य नीतिका कारण नेपाली उत्पादनहरुले भारतीय बजारमा प्रवेश पाउन व्यहोर्नुपर्ने झण्झट, बढ्दो व्यापार घाटा, सीमामा बनाइएका एकतर्फी बाँधका कारण वर्षेनी हुने नेपाली भूमि डुबान, नेपालले स्वाभाविकै रुपमा पाउनु पर्ने वैकल्पिक हवाई प्रवेश मार्गमा गरिएको आनाकानी आदि। घनिष्ट छिमेकी मित्रसँग यी विषयमा खुलस्त कुरा हुनु आवश्यक छ। समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन। यी विषयहरु उठाउनु कुनै देश विशेषको विरोध होइन। यो नेपालको राष्ट्रिय हितको प्रश्न हो,’ उनले भनेका छन्।
(न्यूज कारखानाबाट)






















