जनकपुरधाम, ३० असोज। मधेश प्रदेशमा फेरि राजनीतिक किचलो सुरु भएको छ। मधेश सरकारबाट एमालेले समर्थन फिर्ता लिएसँगै कांग्रेस नेतृत्वको सरकार अप्ठेरोमा परेको हो।
एमालेले शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो। मधेशमा कांग्रेसका कृष्ण यादव मुख्यमन्त्री छन्।
एमालेले कांग्रेस र नेपाली कम्नियूष्ट पार्टीबीच प्रदेश सरकारको प्रभावकारी सञ्चालन, सुशासन, विकास निर्माण तथा जनहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न १५ बुँदे समझदारी भएकोमा उक्त समझदारी पूरा नभएकाले समर्थन फिर्ता लिएको जनाएको छ।
एमालेबाट प्रदेश सरकारमा रहेका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर, खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा, श्रम तथा यातायातमन्त्री शारदा देवी थापा र शिक्षा तथा खेलकुदमन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन्।
केन्द्रमा एमाले र नेकपाबीच नयाँ गठबन्धन बनेसँगै प्रदेश सरकार अस्थिर बनेको हो। एमालेले सुदूरपश्चिम प्रदेशबाट कांग्रेस नेतृत्वमा रहेको सरकारबाट बाहिरिन थालेको हो। एमाले र नेकपाबीच सहकार्य भएसँगै कोशी, बागमती, लुम्बिनी, कर्णालीमा सरकार फेरबदल भएको छ।























