सिरहा, २३ असोज। सशस्त्र प्रहरी बलका एआईजी बंशीराज दाहाललाई बर्खास्त भएको छ। शुक्रबार गृह मन्त्रालयले आचरणविपरीत कार्य गरेको भन्दै एआईजी दाहाललाई बर्खास्त गरेको हो। 

आजैका मितिदेखि लागू हुने गरी उनलाई सेवाबाट हटाउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी  गरेको विज्ञप्तीमा उल्लेख गरेको छ। 

गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरेको कसुरमा मिति २०८३÷०६÷२३ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारवाही गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

एआईजी दाहालविरुद्ध छानबिन गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरीकै अर्का एआईजी अञ्जनी पोखरेललाई जिम्मा दिएको थियो। गृहले गत सोमबार एआईजी दाहाललाई निलम्बन गर्दै जाँचबुझ समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनेको थियो।

एआईजी दाहालले आचरणविपरितका गतिविधि गरेको निश्कर्षसहितको प्रतिवेदन बिहीबार साँझ एआईजी पोखरेलले गृह मन्त्रालयमा बुझाएका थिए।