काठमाडौं, २४ असोज। पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वव्यापी जलवायु परिवर्तन र वातावरणीय संकटप्रति विश्वका शक्ति राष्ट्रदेखि नेपालका राजनीतिक नेतृत्व गम्भीर नभएको गुनासो गरेका छन्।
शनिबार काठमाडौंमा नेपाल मधुमेही समाजको ३६औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै डा। यादवले वैज्ञानिक प्रमाणहरूले बारम्बार चेतावनी दिँदा पनि नीति निर्माण तहमा रहेका नेतृत्वले यसलाई सामान्य रूपमा लिनु वा ‘झुट’ भन्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।
‘दुःखको कुरा विश्वका केही नेताहरूले जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक प्रतिवेदनलाई समेत अस्वीकार गर्दै यसलाई झुटो भन्ने गरेका छन्। जबकि संयुक्त राष्ट्रसंघका वैज्ञानिकहरूले जलवायु परिवर्तनका जोखिमबारे निरन्तर चेतावनी दिँदै आएका छन्,’ उलने भने।
पूर्वराष्ट्रपति डा। यादवले आफ्नो कार्यकालमा चुरे संरक्षणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको स्मरण गरे। चुरे क्षेत्रको विनाश रोक्नसके मात्रै हिमालको हिउँ जोगिने, पहाडको पर्यावरण सुरक्षित हुने र तराईको उर्वर भूमि मरुभूमीकरण हुनबाट बच्ने बताए।
‘राष्ट्रपति हुँदा मैले चुरे संरक्षणको आवश्यकता औँल्याउँदै आएको थिएँ। चुरे जोगाउनसके हिमालको हिउँ, पहाडको वातावरण र तराईको उर्वर भूमि संरक्षण गर्न सकिन्छ तर सरकारले र राजनीतिक दलहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएनन्,’ उनले भने।
उनले विश्वव्यापी रूपमा जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिकको संस्थाले दिइरहेको चेतावनी र तथ्यपरक रिपोर्टलाई समेत बेवास्ता गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे। अमेरिका लगायतका केही मुलुकका शक्तिशाली नेतृत्वले नै जलवायु परिवर्तनको बहसलाई ‘झुट’ भन्नुले पृथ्वीको भविष्य थप संकटमा परेको उनको भनाइ छ।
‘विश्वले अहिले वातावरणीय सङ्कट र ग्लोबल वार्मिङको गम्भीर चुनौती भोगिरहेको छ तर यस विषयमा विश्वका नेतृत्व र हाम्रो देशका राजनीतिक दलहरूमा समेत आवश्यक दूरदृष्टि देखिएको छैन,’ उनले भने।
वातावरणीय मुद्दामा देखिएको राजनीतिक उपेक्षाले मानव अस्तित्व र प्राकृतिक स्रोत–साधनको दोहनलाई थप जटिल बनाउने उनको भनाइ छ। नेपालले वातावरण संरक्षमा जोड दिनुपर्ने यादवले बताए।
‘अब पनि हामीले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेनौँ भने यसको गम्भीर असर भविष्यका पुस्ताले भोग्नुपर्नेछ,’ डा। यादवले भने।
कार्यक्रममा शताब्दी महिला नानिबाबा प्रधानलाई नेवारी संस्कृतिअनुसार कदरपत्रसहित सम्मान गरिएको छ। उनले मधुमेही समाजका लागि सबैभन्दा बढी योगदान र अनुदान समेत दिएकी छन्।
(नेपालखवरबाट)






















