जनकपुरधाम २२ असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा मधेसी समूहबाट सहमहामन्त्री पदका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा छन्। सहमहामन्त्रीका लागि पूर्वसहमहामन्त्री महेन्द्र यादवसहित अजयकुमार चौरसिया, नागिना यादव, किरण यादव, अभिषेकप्रताप शाह, रामपल्टन साह, मनिषकुमार मिश्र र मुक्ताकुमारी यादवले उम्मेदवारी दिएका छन्।
आज दिउँसो हुने मतदानबाट यीमध्ये एक जना सहमहामन्त्रीमा निर्वाचित हुनेछन्। मधेसी क्लस्टरबाट एक जना निर्वाचित हुने भएकाले यी ८ जनामध्ये मधेसी समूहको मत कसको पक्षमा जाने भन्ने विषयलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ।
यस पटकको प्रतिस्पर्धामा कांग्रेसको पुरानो संगठनबाट आएका अनुभवी नेतादेखि अन्य राजनीतिक दल हुँदै कांग्रेसमा आएका र नयाँ पुस्ताका नेतासम्म मैदानमा छन्। त्यसैले यो चुनावले मधेसमा कांग्रेसको पुरानो संगठन, व्यक्तिगत प्रभाव र नयाँ राजनीतिक पुस्ताबिचको प्रतिस्पर्धालाई समेत देखाउने कांग्रेसका स्थानीय नेताहरूको बुझाइ छ।
महेन्द्र यादव : संगठनको लामो अनुभव
उम्मेदवारमध्ये धनुषाका महेन्द्र यादवलाई लामो समयदेखि कांग्रेसमा सक्रिय र संगठनको राम्रो अनुभव भएका नेताका रूपमा हेरिएको छ। उनी १४औँ महाधिवेशनमा मधेसी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका थिए। यसपटक पनि उनले सोही पदमा पुनः उम्मेदवारी दिएका छन्।
यादव विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय हुँदै नेपाल तरुण दलको केन्द्रीय अध्यक्षसमेत भइसकेका छन्। उनी संविधानसभा तथा व्यवस्थापिका–संसदका सदस्य र खानेपानी तथा सरसफाइमन्त्रीसमेत भइसकेका छन्। लामो समय कांग्रेसको संगठनमा काम गरेका यादवले पछिल्लो समय पार्टीभित्र एकता र साझा नेतृत्वको पक्षमा आफूलाई उभ्याउँदै आएका छन्।
यसपटक गगन थापा नेतृत्वको कांग्रेसमा सहभागी हुँदै उनले मधेसमा पार्टीको संगठन र जनाधार थप बलियो बनाउने उद्देश्यले सहमहामन्त्रीमा पुनः उम्मेदवारी दिएको उनले बताए। कांग्रेसका केही प्रतिनिधिले पनि लामो संगठनात्मक अनुभवका कारण यादवलाई बलियो प्रतिस्पर्धीका रूपमा हेरेका छन्।
अजयकुमार चौरसिया : कांग्रेस–सद्भावना–कांग्रेस
पर्साका अजयकुमार चौरसिया पनि कांग्रेसका पुराना राजनीतिक अनुहार हुन्। उनको राजनीतिक यात्रा कांग्रेसबाटै सुरु भएको थियो। २०४८ सालको निर्वाचनताका टिकट नपाएपछि उनी सद्भावना पार्टीको राजनीतिमा लागेका थिए। पछि पुनः कांग्रेसमा फर्किएका चौरसियाले महासमिति सदस्यदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालेका छन्। उनी सांसद र मन्त्रीसमेत भइसकेका छन्। लामो संसदीय तथा संगठनात्मक अनुभवलाई आधार बनाएर उनी सहमहामन्त्रीको दौडमा छन्।
नागिना यादव : नेविसंघबाट महिला नेतृत्वसम्म
महोत्तरीकी नागिना यादव विद्यार्थी राजनीतिबाट कांग्रेसमा आएकी नेतृ हुन्। उनले २०५३ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन्। १४औँ महाधिवेशनबाट मधेसी महिला कोटामा केन्द्रीय सदस्य बनेकी यादव पछिल्लो समय कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय रहँदै आएकी छन्।
किरण यादव : संविधानसभा हुँदै केन्द्रीय राजनीतिमा
महोत्तरीकै किरण यादव पनि लामो समयदेखि संसदीय राजनीतिमा सक्रिय नेतृ हुन्। पहिलो संविधानसभा निर्वाचनपछि संविधानसभा सदस्य बनेकी उनी दोस्रो संविधानसभामा पनि निर्वाचित भएकी थिइन्। यसअघि शेखर कोइराला समूहसँग नजिक रहेकी यादव अहिले गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी भएकी छन्।
अभिषेकप्रताप शाह : फोरमबाट कांग्रेससम्म
कपिलवस्तुका अभिषेकप्रताप शाहको राजनीतिक पृष्ठभूमि भने कांग्रेसभन्दा फरक छ। उनले तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका थिए। संविधानसभा सदस्य बनेका शाह २०७४ सालको प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसमा प्रवेश गरेका थिए। त्यसपछि कांग्रेसबाटै संसदीय राजनीतिमा सक्रिय रहँदै आएका उनी अहिले सहमहामन्त्रीको प्रतिस्पर्धामा छन्।
रामपल्टन साह : नयाँ पुस्ताको अनुहार
धनुषाका रामपल्टन साह कांग्रेसभित्र नयाँ पुस्ताका नेताका रूपमा अगाडि आएका छन्। उनको राजनीतिक यात्रामा स्वर्गीय नेता प्रदीप गिरीको प्रभाव रहेको बताइन्छ। विशेष महाधिवेशनका क्रममा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठन सुधारको बहसमा सक्रिय रहेका साह त्यसपछि मधेसी खुलातर्फ केन्द्रीय सदस्य बनेका थिए। तुलनात्मक रूपमा छोटो राजनीतिक यात्रामै पदाधिकारीका लागि उम्मेदवारी दिएका कारण उनको उम्मेदवारीलाई नयाँ पुस्ताको दाबीका रूपमा हेरिएको छ।
मनिषकुमार मिश्र : लोसपाबाट कांग्रेसमा छिर्दै पदाधिकारीमा दाबी
सर्लाहीका मनिषकुमार मिश्र भने पछिल्लो समय कांग्रेसमा प्रवेश गरेका नेतामध्ये हुन्। उनी यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा महासचिवको जिम्मेवारीमा थिए। प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसमा प्रवेश गरेका मिश्रलाई सभापति गगन थापाले पार्टी प्रवेशसँगै केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। कांग्रेसमा आएको छोटो समयमै सहमहामन्त्रीमा उम्मेदवारी दिएपछि उनको दाबीलाई नयाँ राजनीतिक पुस्ताको महत्त्वाकाङ्क्षी प्रवेशका रूपमा हेरिएको छ।
मुक्ताकुमारी यादव : मधेसी महिला प्रतिनिधित्व
धनुषाकी मुक्ताकुमारी यादव कांग्रेसभित्र मधेसी महिला नेतृत्वका रूपमा परिचित छन्। उनी १४औँ महाधिवेशनबाट मधेसी महिला कोटामा केन्द्रीय सदस्य बनेकी थिइन्। पछिल्लो विशेष महाधिवेशनबाट मधेसी क्लस्टरतर्फ सहमहामन्त्री निर्वाचित भएकी यादवले यसपटक पनि सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी छन्।
यसरी मधेसी समूहबाट सहमहामन्त्रीका लागि मैदानमा रहेका ८ उम्मेदवारको राजनीतिक पृष्ठभूमि र संगठनात्मक अनुभव फरक–फरक छ। कोही लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय छन् भने कोही अन्य दल हुँदै कांग्रेसमा आएका छन्। त्यस्तै, केही उम्मेदवार नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै पदाधिकारीमा पुग्ने प्रयासमा छन्।
त्यसैले आज हुने मतदानमा व्यक्तिगत लोकप्रियता, संगठनमा रहेको प्रभाव, प्रतिनिधिहरूसँगको सम्बन्ध र विगतको राजनीतिक योगदानमध्ये कुन पक्ष निर्णायक बन्छ भन्ने विषय महत्त्वपूर्ण बनेको छ। मधेसी समूहबाट सहमहामन्त्रीमा कसले बाजी मार्छ भन्ने परिणामले कांग्रेसको मधेस संगठनमा आगामी नेतृत्व र शक्ति सन्तुलनको संकेतसमेत दिने कांग्रेसभित्र चर्चा छ।
(रातोपाटीबाट)






















