सिरहा, २३ असोज। सिराहा जिल्ला अदालतले हिन्दु नेपालीहरूको ठुलो चाड बडादसैँको १५ दिने बिदा अवधिमा अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाइ, जरुरी पक्राउ पुर्जी जारी र अनुमतिसम्बन्धी सेवा सुचारु रहने बताएको छ।
अदालतका श्रेस्तेदार–उपसचिव दिनेश सुवेदीले शुक्रबार सूचना जारी गर्दै विशेष व्यवस्थाअन्तर्गतका कार्यहरूका लागि २५ असोजदेखि ८ कात्तिकसम्म शनिबार, घटस्थापना र विजयादशमीबाहेकका दिनहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने जानकारी दिए।
सूचनामा अदालत खुला भएको दिन अपराह्न १ बजेसम्म दर्ता हुन आएका बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनहरू सोही दिन सुनुवाइ हुने र त्यसपछि दर्ता हुने निवेदनहरू त्यसको भोलिपल्ट सुनुवाइ हुने व्यवस्था मिलाइएको उल्लेख छ।























