सिरहा, ११ असोज। सिरहाको गोलबजार ३, जमदह भागङबारीका स्थानी रुपमा जनमोर्चा नामले परिचित करिव ६० वर्षिय सत्यलाल सदायको परिवार वर्षाका कारण विचल्लिमा परेका छन्। घरको नाममा रहेको छाप्रोसमेत भताभुङ्ग भएकाले उनको परिवार यो वर्षामा विच्चल्लि भएका हुन्।

आफ्नो घर बस्नयोग्य नभएकाले सत्यलाल र उही उमेरका उनकी श्रीमती अमरिका सदा छिमेकीकोमा सरण लिएर बसेका छन्। उनीहरु बस्दै आएको छाप्रो आधा पहिल्यै उज्जडीसकेको छ, बाँकी रहेका भागका भित्ताहरु पनि भत्केको छ। भत्केका भित्ताहरु तन्ना र बर्कोले छोपेको छ। छानामा प्वालहरु परेका छन्। घर ठडिएकै भएपनि ‘धराप’ जस्तो बनेको छ। त्यहाँ बस्दा कुन बेला भत्केर थिच्ने हो भन्ने त्रासले उनीहरु सुत्न छिमेकको जाने गरेको बताउँछन्।

घाम पानि नै नछेकिने घरमा उनीहरु खाना बनाउने, खाने गरेपनि रात भने बस्न छोडेका छन्। अमरिका सदाले दुःखविसाउँदै भनीन, ‘दिनभरी घर कुरेरबस्छौं, बेलुकाको खानापछि छिमेकीकोमा सुत्न जान्छौं। यो झरीमा कतिखेर भत्कने हो, कुनै ठेगान छैन। बुढो र रोगी शरीर जोगाउन छिमेकीको सरण लिन परेको छ।’
उनीहरु दुवै जना रोगी छन्। सत्यलाल पछिल्लो दुई महिनादेखि राम्रोसँग हिडडुल गर्न, बोल्न सक्दैनन, अमेरीकाका दुवै खुट्टाको पैतालामा घाउभएर राम्रोसँग हिड्न पनि सक्दैनन्। कमाईगर्न नसक्ने भएकाले उनीहरुको विहान वेलुकाको छाक टार्न समेत समस्या छ। अमिरिकाले विलौना गर्दै हामीसँगै प्रश्नगरीन्, ‘हाम्रो अवस्था यस्तो छ, रोगले थलिएका छौं, विहानी बेलुकाको छाक टार्नसमेत समस्या छ, कसरी घर सखार्ने?’
उनीहरुका एक छोरा र दुई वटा छोरिहरु छन्। छोरीहरुको विवाह भएर भईसकेको छ। २५ वर्षिय छोरा राजे सदाय दुई महिना अघि रोजगारीको लागि भारतको अहमदावाद गएका छन्। ‘घरमै हुँदा पनि उनको कमाई राम्रो थिएन, उनको कमाईले उनैलाई ठिक्क हुन्थ्यो,’ एक छिमेकीले भने।
उनीहरु घरबार हैन, परीवारकै नागरिक्ता विहिन छन्। सत्य लाल र अमरिकाको नागरिक्ता प्रमाणपत्र नभएकाले उनीहरुका तीन जना सन्तानै नागरिक्ता बन्न सकेको छैन। उनीहरुको नागरिक्ता नभएकाले पनि राज्यबाट पाउने सुविधाबाट बञ्चित हुन पुगेको छ।
सत्यलाल ससुरालीमा आएर बसेकाले उनले आफ्नो जन्मथलोबाट बसाईंसराईको कागज ल्याउन सकेकाले नागरिक्ता बन्न समस्या भएको गोलबजार नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष धनप्रसाद लामाले बताए। उनले भने, ‘मैले धेरै पटक प्रयास गरें, उहाँको घरपनि यहि पालिकाको १० नम्वर वडामा हो, त्यहाँबाट यो यो कागज ल्याउन भनें। ल्याउन नसकेकाले नागरिक्ता सिफरिस भएको छैन।’
घर सखार्ने विषयमा पनि वडाबाट कुनै सहयोग नभएको वडा अध्यक्ष लामाले स्वीकार गरे। उनले भने, ‘वडाले त्यस्तो सहयोग त गर्न सकेको छैन। तर, मैले उहाँहरुलाई सहुलियत होस् भनेर प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको काममा जोडिन अनुरोध गरें, आउनु भएन, पछि पनि सम्पर्कमा आउनु भएन।’






















