रौतहट, ९ असोज। बाराको कोल्हवीमा टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको ज्यान गएको छ। करेन्ट लागेका बालकलाई छुट्याउन खोज्दा परिवारका थप चार जना घाइते भएका छन्।
कोल्हवी नगरपालिका ३ जुगुवा टोलका श्याम रामका १० वर्षीय छोरा आकाश रामलाई शुक्रबार दिउँसो करिब १२ बजे टिभी चलाउने क्रममा तार सर्ट भएर करेन्ट लागेको हो।
गरेन्ट गम्भीर घाइते भएका आकाशलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। तर, अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी डीएसपी मिनबहादुर घलेले जानकारी दिए।
करेन्ट लागेका आकाशलाई छुट्याउने क्रममा उनकी करिब ७० वर्षीया हजुरआमा ऐतबरिया, १२ वर्षीया दिदी निलम राम तथा स्थानीय पाँचु रामकी ४० वर्षीया श्रीमती फूलकुमारी राम र बिगम शर्माकी ४१ वर्षीया श्रीमती अनिता शर्मा घाइते भएका छन्।
ऐतबरिया, निलम र फूलकुमारीको स्थानीय स्वास्थ्यसंस्थाहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूमध्ये ऐतबरिया, निलम र फूलकुमारीको अवस्था मध्यम तथा अनिताको अवस्था सामान्य रहेको डीएसपी घलेले बताए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा घटनाको मुचुल्काका लागि इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक सविनकुमार कार्कीको नेतृत्वमा टोली खटाइएको डीएसपी घलेले जानकारी दिएका छन्।






















