काठमाडौं, ८ असोज। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले वरिष्ठ नेता मनोनीत भएकी छन्। एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरेको हो।
यस्तै, बैठकले १० प्रतिशत सदस्य कोटामा २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन प्रस्ताव गरेको छ। सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका नाम केन्द्रीय कमिटीमा प्रस्ताव भएको हो। यीबाहेक थप केही नेताहरुको नाम केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ।
केन्द्रीय सदस्यमा मनोनीत हुनेमा देवराज घिमिरे, काशीनाथ अधिकारी, शिवमाया तुम्वाहाङ्फे, विमला घिमिरे, हरि घिमिरे, प्रेम दंगाललगायत छन्।
केन्द्रीय कमिटी बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, काशीनाथ अधिकारीलगायतलाई स्थायी समिति सदस्यमा मनोनयन गरेको छ।






















