बद्रिनारायण यादव

सिरहा, ७ असोज। शिक्षा आर्जनमा सहजता हुने अभिप्रायले जय श्री सलहेश युवा समाज सेवा, मलेसिया शाखाले सिरहामा शैक्षिक सामग्री वितरण गरेका छन्। एक कार्यक्रमको आयोजना गरेर सिरहा नगरपालिका पासमान समाजका बाल विकासदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरेका हुन्।

सिरहा पुस्तकालयमा आयोजित उक्त कार्यक्रममा संस्थाका नेपाल प्रतिनिधि रामकिशोर पासमानको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासमानको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री वितरण गरेको हो।

कार्यक्रममा दलित अधिकारकर्मी चन्देश्वर पासमान, विजय पासमान, मोहन पासमान, रीना पासमान सहभागी थिए। कार्यक्रम शोभित पासमानले सञ्चालन गरेको थियो।

मलेसियामा रोजगारीका क्रममा रहेका पासमान समाजका युवाहरूले आफ्नो आम्दानीबाट सहयोग जुटाएर समुदायका बालबालिकालाई शिक्षातर्फ प्रोत्साहित गर्ने उद्देश्यले सामग्री वितरण गरेको आयोजकले जनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि धर्मेन्द्र पासमानले शिक्षा क्षेत्रमा राज्यले अघि सारेका निःशुल्क शिक्षालगायतका पहलको चर्चा गर्दै बालबालिकाको शिक्षामा पहुँच विस्तारका लागि राज्यसँगै समुदायको भूमिका पनि महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा सहभागी वक्ताहरूले पासमान समाजका बालबालिकाको शैक्षिक विकासका लागि समुदायस्तरबाट निरन्तर सहयोग र सकारात्मक पहल आवश्यक रहेको धारणा राखे। सो अवसरमा विद्यार्थीहरूलाई कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको आयोजकका तर्फबाट शोभित कुमार पासवानले जनाए।