राजविराज, ५ असोज। सप्तरीको कञ्चनरूप नगरपालिका १२ ठेलियास्थित धर्मेश्वर हस्पिटल प्रालिमा प्रसूति गराएका दुई महिलाको मृत्यु  घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशलाई पत्राचार गरेको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार मन्त्रालयलाई पत्र पठाउँदै दुवै महिलाको मृत्युको कारण, अस्पतालको कमीकमजोरीबाट मृत्यु भए नभएको तथा अस्पतालमा शल्यक्रियालगायत जटिल प्रकृतिका उपचार गर्न आवश्यक अनुमति, पूर्वाधार र विशेषज्ञ जनशक्ति भए–नभएको विषयमा छानबिन गर्न पत्रचार गरेको हो।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हस्ताक्षर गरेको पत्रमा २०८३ असोज ४ गते र भदौ १६ गते धर्मेश्वर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराइएका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको उल्लेख छ।

पत्रअनुसार अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ का अमितकुमार चौधरीकी २८ वर्षीया श्रीमती निर्मला चौधरीलाई असोज १ गते प्रसूति व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो।

अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराएपछि उनको अवस्था गम्भीर बनेको र थप उपचारका लागि अर्को अस्पतालमा रेफर गरिएको थियो। उपचारका क्रममा असोज ४ गते निर्मलाको मृत्यु भएको पत्रमा जनाएको छ।

त्यसैगरी, सप्तकोशी नगरपालिका ११ का रामसागर खड्गाकी २८ वर्षीया श्रीमती पुष्पा खड्गालाई गत भदौ १६ गते प्रसूति व्यथापछि अस्पताल लगिएको थियो।

अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराएपछि उनको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि अर्को अस्पताल रेफर गरिएको थियो । उपचारका क्रममा सोही दिन पुष्पाको मृत्यु भएको प्रजिअ थापाले जानकारी सदि। 

लगातार दुई सुत्केरीको मृत्यु पछि अस्पतालमा प्रसूति तथा शल्यक्रियाको सेवा सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा भएको छ कि छैन भन्ने प्रश्नसमेत उठेकाले जिल्ला प्रशासन कार्यालयले अस्पतालको सेवा, अनुमति, पूर्वाधार, विशेषज्ञता तथा उपचार प्रक्रियाबारे समेत छानबिन आवश्यक रहेको जनाएको छ।

प्रशासनले मन्त्रालयलाई पठाएको पत्रमा दुवै घटनाको आवश्यक छानबिन गरी सुत्केरी महिलाको मृत्यु हुनुको वास्तविक कारण पत्ता लगाउन र अस्पतालको उपचार सेवासम्बन्धी आवश्यक पक्षसमेत अध्ययन गर्न अनुरोध गरेको छ।