काठमाडौं, ५ असोज। प्रधानमन्त्री वालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताबीच भेटवार्ता भएको छ। 

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र विश्वप्रकाश शर्मासँग बालेनले भेट गरेका हुन्।

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई सिंहदरबारमा बोलाएका हुन्।

प्रधानमन्त्री बालेन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ। भेटमा प्रधानमन्त्रीलाई जलवायु परिवर्तन र नेपालले भोग्नुपरेको समस्या संयुक्त राष्ट्रसंघमा उठाउन सल्लाह दिएको शर्माले बताए।

(न्युज कारखाना)