सिरहा, ५ असोज। सिरहा प्रहरीले मनोज मानव नामले परिचित यूटवर मनोज कुमार महतोलाई पक्राउ गरेको छ। व्यक्तिको चरित्रहत्या एवम् सामजिक शान्ति भङ्ग गर्ने कार्यमा संलग्न रहेको आरोपमा उदयपुरको चतरापुल पारी एक होटलबाट प्रहरीले पक्राउ गरेको हो।
लामो समयदेखि जिल्लाका उद्योगी, व्यवसायी, जन–प्रतिनिधी, पत्रकार, नेता, राष्ट्रसेवक कर्मचारीलगायतका व्यक्ति तथा सम्प्रदाय विरुद्ध अत्यन्तै अराजक र अशिष्टि ढंगबाट बदनाम र चरित्रहत्या गर्ने मनसायले विना प्रमाण, आधारहिन, धम्कीपूर्ण र भ्रामक सामाग्री सामाजिक सञ्जालबाट पोष्ट गरी सामाजिक सद्भावक खलल पार्ने कार्य गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिए।
विभिन्न व्यक्तिहरुले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ।
साथै उनले आफूसँग अटोमेटिक हतियार रहेको र आफू पूर्व जनतान्त्रिकको लडाकुसमेत भएको भनि धम्की दिने र केही व्यक्तिहरुलाई हतियारको फोटो पठाई आपराधिक लाभसमेत लिएको भन्ने सूचनाका प्राप्त भएको प्रहरीले जनाएको छ। उनी सिरहकै लहान नगरपालिका २४का स्थायी बासिन्दा हुन्।
प्रहरीले आजै म्याद थपको लागि जिल्ला अदालत लगिने जनाएको छ।






















