काठमाडौं, ३ असोज। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट प्राप्त उपलब्धिलाई जनताको जीवनस्तरसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नु आजको प्रमुख दायित्व भएको बताएका छन्।

संविधान दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले संविधानले परिकल्पना गरेको वास्तविक सामाजिक–आर्थिक रूपान्तरणका लागि सबै पक्षको एकताबद्ध प्रयासमा जोड दिएका छन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकारलाई पछाडि फर्काउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै उनले संविधानका मूल्य, मान्यता र जनअधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए।

‘राजनीतिक परिवर्तनलाई आर्थिक, सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्छ। संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ,’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

संविधान केवल कानुनी दस्तावेज मात्र नभई नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको उल्लेख गर्दै उनले यसको सही कार्यान्वयनमै मुलुकको समृद्धि निर्भर रहने बताएका छन्।