मणिलाल विश्वकर्मा

लहान, २ असोज। जनसंख्या र भूगोलको हिसाबले सिराहा जिल्लाकै सबैभन्दा ठुलो लहान नगरपालिकाले आर्थिक विकासका लागि ‘लहान औद्योगिक क्षेत्र’ स्थापना गर्न सम्भाव्यता अध्ययन समिति गरी काम थालेको छ। 

व्यवसायी किशोर प्रधानको संयोजकत्वमा स्थानीय व्यवसायीहरू रहेको नौ सदस्यीय अध्ययन समिति गठन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार सम्भाव्यता अध्ययन समितिमा सदस्यहरू लहानस्थित जिल्ला उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष प्रदीपकुमार गुप्ता सहसंयोजक, सदस्यहरू विकास शारदा, अशोक अमात्य, पवन मुन्धडा, सुनिल चौधरी, रवीन्द्रकुमार श्रेष्ठ, राकेश महासेठ र खुश्बु जयसवाल रहेका छन्। समितिका सदस्यहरूमध्ये शारदा, अमात्य, मुन्धडा संघका पूर्वअध्यक्षहरू र श्रेष्ठ संघका वर्तमान महासचिव र जयसवाल कार्यसमिति सदस्य रहेको जनाइएको छ। 

नगर प्रमुख महेश चौधरीका अनुसार नगर क्षेत्रमा व्यवस्थित योजनाबद्ध र दिगो औद्योगिक विकासका लागि सम्भव्यता अध्ययनका लागि समिति गठन गरी जिम्मेवारी दिइएको हो। ‘नगर क्षेत्रको दिगो आर्थिक विकाससँगै स्थानीय रोजगारी सिर्जना गर्न व्यवस्थित औद्योगिक क्षेत्रको आवश्यकता महसुस भएको हो,’ उनले भने, ‘समितिले औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक जग्गा, पूर्वाधार निर्माण, लगानी, उद्योगको सम्भाव्यता, वातावरणीय पक्ष तथा कार्यान्वयनको चरणबद्ध योजनासहितको प्रतिवेदन तयार गरी तीन महिनाभित्र नगरपालिकामा बुझाउने जिम्मेवारी दिइएको छ।’

मूलतः कृषि तथा व्यापारमा उदाएको लहान उदयपुर, खोटाङ, ओखलढुंगालगायतका पहाडी जिल्लाबाट आउने मानिसका लागि करिब चार दशक अघिसम्म पहाडबाट घिउ, महलगायतका सामग्री ल्याएर बिक्री गरी चामल, नुन, मसला, लत्ताकपडा र किरानाका सामान खरिद गरी पहाड उक्लिने मुख्य गन्तव्य रहेको स्थानीय बुढापाकाहरू सुनाउँछन्। लहान क्षेत्रका पुराना व्यवसायीहरूका अनुसार धान, चामल, तोरी तथा उखुजस्ता कृषि उपज प्रशोधन गरी बिक्रीका लागि पशुपति राइस मिल, खाँडसरी चिनी मिल स्थापना गरी केही समय चले पनि पछि बन्द भएका थिए। 

Adhyayan-Samiti2026-09-18-02-50-03