काठमाडौं, १ असोज। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७ः३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।
विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ।
भ्रमण तालिका अनुसार बिहीबार ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता हुने छ। शुक्रबार बिहान ९ बजे पूर्व विदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने छ।
शुक्रवारै अपरान्ह ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता, ७ ः३० बजे भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत भेटघाट कार्यक्रममा सहभागी हुने कार्य तालिका रहेको छ।
शनिबार विहान ९ ः३० बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी, ११ः ३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने छ। सोही दिन साँझ ४ बजे नेपाल फर्किर्ने कार्यतालिका सार्वजनिक भएको छ।
अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली राजदूताबास नयाँदिल्लीका उप नियोग प्रमुख डा.सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी, अर्थमन्त्रीका निजी उप–सचिव कञ्चन बस्नेत सहभागी रहेका छन्।






















