जनकपुरधाम, २९ भदौ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव फिलिपिन्सको राजधानी मनिला प्रस्थान गरेका छन्। भदौ ३० र ३१ गते मनिलामा आयोजना हुने ‘थर्ड क्लाइमेट एडप्टेसन इन्भेस्टमेन्ट प्लानिङ फोरम–२०२६’ मा सहभागी हुन यादव आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्।
जलवायु परिवर्तनका कारण मधेशले भोग्दै आएका चुनौती तथा अनुकूलनका सम्भावनाबारे उनले सम्मेलनमा आफ्ना धारणा राख्ने भएका छन्। उनीसँगै कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादव पनि सहभागी हुनेछन्।
जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये मधेश पनि एक हो। बर्सेनि हुने बाढी र डुबानसँगै पछिल्ला वर्षमा बढ्दो सुख्खा, कृषि उत्पादनमा आएको अस्थिरता, भूमिगत पानीको समस्या तथा अत्यधिक गर्मीले प्रदेशको अर्थतन्त्र र जनजीवनमा चुनौती थपिरहेको छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय मञ्चमा मधेशका वास्तविक जलवायु जोखिम, अनुकूलनका प्राथमिकता तथा लगानीको आवश्यकता प्रस्तुत गर्नु भ्रमणको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ।
विशेषगरी जलवायुजन्य विपद् न्यूनीकरणसँगै कृषि, खानेपानी, सिँचाइ, पूर्वाधार तथा दिगो विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी र सहकार्य जुटाउन यस्ता फोरम उपयोगी हुन सक्छन्।
नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्रशेखर कुमार यादवका अनुसार, भ्रमणका क्रममा जलवायु परिवर्तनका कारण मधेशले भोगिरहेका बाढी, डुबान, सुख्खा लगायतका जोखिम न्यूनीकरण, अनुकूलन र लगानीका अवसरबारे अन्तर्राष्ट्रियस्तरमा अनुभव आदान–प्रदान हुनेछ। उनले जलवायु अनुकूलनका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र लगानीमार्फत मधेशलाई थप सुरक्षित, दिगो र समृद्ध बनाउने प्रयासलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
विशेषगरी जलवायु परिवर्तनलाई केवल विपद्को विषयका रूपमा नभई लगानी, पूर्वाधार विकास र कृषि रूपान्तरणसँग जोडेर अघि बढाउन सके मधेशले दीर्घकालीन लाभ लिन सक्ने देखिन्छ। त्यसका लागि अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता मात्र नभई सम्मेलनबाट प्राप्त ज्ञान, सहकार्य र लगानीका सम्भावनालाई प्रदेशमा व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने चुनौती भने सरकारसामु रहनेछ।
(न्युज कारखानाबाट)






















