सिरहा, २८ भदौ। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउ नसुगरसहित चार युवकलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा ९७ ग्राम ५३ मिलिग्राम ब्राउन सुगरसहित गोलबजार १२ बेतौनाबाट स्थानीय करिव २५ वर्षिय मुनेश्वर मण्डल, २६ को बिरेन्द्र  कुमार साह, २० वर्षिय अरबिन्द कुमार सिंह र गोलबजार ६ का ३३ वर्षिय रितेश यादवलाई प्रहरीले आज बेलुका नियन्त्रणमा लिएको हो। 

गोलबजार १२ बेतौनाका मुनेश्वर मण्डलले आफ्नै घरमा आगु पदार्थ बिक्री बितरण गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजार र लागु औषध नियन्त्रण ब्यूरो गोलबजारबाट खटिएको टोलिले उक्त परिमाणको लागु पदार्थसहित चारजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।  

प्रहरीका अनुसार टोलिले मुनेश्वर मण्डलको घरमा गई खानतलासी गर्दा उनले लगाएको पाईन्टको दाहिने खल्तीबाट प्लाष्टिकको पोकामा ब्राउनसुगर फेला परेको थियो। प्लाष्टिकसहित तौल गर्दा १०२ ग्राम ८८ मिलि ग्राम र प्लाष्टिक बाहेक ९७ ग्राम ५३ मिलि ग्राम भएको प्रहरीको भनाई छ। 

प्रहरीले उनीहरुको साथबाट दुई हजार ५९५ रुपैयाँ नगद,  मोबाइल ५ थान, डिजिटल तराजु थान बरामद भएको जनाए। प्रहरीले यस घटनाको सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाए।