काठमाडौ., २८ भदौ। नयाँ क्याम्पसलाई परम्परागत शिक्षामा मात्र सीमित नराखी अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित गर्ने सरकारको योजना छ। आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान, आविष्कार तथा व्यावहारिक प्रयोगलाई प्राथमिकता दिँदै क्याम्पसलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने तयारी गरिएको छ।
सरकारले मधेसमा इन्जिनियरिङ अध्ययन संस्थानको क्याम्पस स्थापना भएपछि यस क्षेत्रका विद्यार्थीलाई आफ्नै प्रदेशमा गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्ने अवसर बढ्ने अपेक्षा गरेको छ। साथै, स्थानीयस्तरमै अनुसन्धान तथा प्राविधिक नवप्रवर्तनको वातावरण निर्माण हुने विश्वास गरिएको छ।
हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका आङ्गिक क्याम्पसहरू पुल्चोक, थापाथली, धरान, चितवन र पोखरामा सञ्चालनमा छन्। मधेस प्रदेशमा नयाँ क्याम्पस स्थापना भएमा इन्जिनियरिङ शिक्षाको भौगोलिक पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।






















