सिरहा, २७ भदौ। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज तथा पूर्व मन्त्री विश्वनाथ साहले अहिलेको सरकार अर्कैको इशारामा चलेको वताएको छ। सिरहाको धनगढीमाई नगरपालिकाको नगर एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले तिब्बतका धर्म गुरु दलाई लामाको जन्मोत्सव मनाउनु, जेनजी शहीद स्मृतिको दिवसमा ठगी मुद्दामा जेल सजाय भोगिसकेका धर्म गुरुहरु विजय भण्डारी, श्रीनिवास आचार्यलाई गृह मन्त्री सुदन गुरुङसँगै राखेर कार्यक्रम गर्नुले पनि यो सरकार कसले चलाई रहेको छ भन्ने स्पष्ट हुने बताए।

यस्तो खालको गतिविधीले शहीदहरु प्रतिको अपमान मात्रै गरेन, सरकार कसरी चलेको भन्ने पनि छर्लङ्ग भएको नेता साहले दोहर्याए।
नेता साहले दर्जनौ जेनजी शहीदहरुको रगतबाट, सुशासनको जगमा बनेको सरकार भ्रष्टहरुहै संरक्षण गरेको जिकिर गरे। उनले सहकारीमा जनताले जम्मा गरेको रकमको अर्बौको घोटाला गरेको जीवी राईलाई पक्राउ नग नसक्नु जस्ता घटनाले पनि सरकारको चरित्र उदाङ्गो भएको सुनाए।
सोही क्रममा उनले एउटा सुत्केरी महिलाले उपचार नपाएर सडकमै बच्चा जन्माउन वाध्य पार्नु, ग्याँसको हाहाकार लगायत समस्या बग्रेली भइरहँदा समेत सरकारले केही गर्न नसक्नु असक्षमता भएको उल्लेख गरे।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले जान्नेलाई छान्ने भन्ने बर्तमान सरकार जनआन्दोलन, मधेश आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई मास्ने खेलमा लागेको बताए। ठूलो बलिदानबाट निर्मित संविधानको रक्षा गर्न सबै एक जुट भएर लाग्नुपर्ने बताए।
नेता चौधरीले अहिलेको सरकार असक्षमताको पराकाष्टा नाघेको छ, बजारमा ग्याँसको हाहाकार छ, बाढी पहिरोको चरम चपेटामा परेकाहरुले उद्धार र आवश्यक राहत पाएको छैन, सुत्केरी महिलाले उपचार पाउन सकेको छैन, महंगीले अकाश छोएको छ। यो जनविरोधी सरकार विरुद्ध लाग्नुको विकल्प नरहेको बताए। सरकारले गरेका राष्ट्रविरोधी गतिविधिलाई पर्दाफास गर्न र राष्ट्रघाती कदम विरुद्ध गाउँ गाउँका जनतालाई सचेत गराउँदै अगाडी बढ्न नेता कार्यकर्तालाई आग्रह गरे।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज अजय शंकर नायक, जिल्ला संयोजक प्रमोद यादव, नेता उत्तर वहादुर जर्घा मगर लगायतको उपस्थितिमा सम्पन्न एकता बैठक तथा प्रशिक्षण कार्यक्रमको अध्यक्षता धनगढीमाई नगरपालिकाका नगर संयोजक प्रकाश योन्जन र संचालन शुभराज लामाले गरेक थिए। पार्टी एकता तथा प्रशिक्षण कार्यक्रमबाट ८१ जना नगर समितिको घोषणा गरेको छ।






















