नरहा गाउँपालिका ५ स्थित जनता आधारभुत विद्यालय जगदिशपुर कालाबञ्जरमा भवन अभावका कारण फरक–फरक कक्षाका विद्यार्थी एउटै कोठामा अध्ययन गर्दै।
- आशिष विश्वकर्मा
सिरहा, २६ भदौ। सिरहाको नरहा गाउँ पालिकामा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत करिव ४ वर्ष अघि रकम प्राप्त भएपनि अझै भवन निर्माण प्रकृया अगाडी बढ्न सकेको छैन। पालिका अध्यक्ष र विद्यालयविच भवन कसले निर्माण गर्ने भन्ने विषय नमिल्दा निर्माण प्रकृया अघि बढ्न नसकेको हो।

नरहा गाउँपालिका ३ स्थित जनता आधारभुत विद्यालय बत्राहीलाई चार कोठे भवन निर्माणको लागि ४५ लाख रुपैयाँ विद्यालयको बैंक खातामा पठाइएको ४ वर्ष वितिसक्यो। संगै नरहा गाउँपालिका ४ स्थित आधारभुत विद्यालय ललभितिया, दिनाभद्री आधारभुत विद्यालय वर्छवा र नरहा गाउँपालिका ५ स्थित जनता आधारभुत विद्यालय जगदिशपुर कालाबञ्जरलाई २÷२ कोठे भवन निर्माणको लागि २२ लाख ५० हजारका दरले विद्यालय खातामा रकम जम्मा भएको छ। तर, अझै निर्माण प्रकृया नै अगाडी बढेको छैन।
भवन अभावका कारण कतिपय विद्यालयमा सानो कोठामा विद्यार्थी कोचेर राख्नु परेको छ। कुनै विद्यालयमा दुई फरक कक्षाका विद्यार्थी एउटै कोठामा राखेर पढाउनु परेको छ। विद्यालय र गाउँपलिका अध्यक्षको स्वार्थ बाझिदा विद्यालय भवन निर्माण हुन सकेको छैन।
राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको उक्त रकम आर्थिक वर्ष २०७९÷८० मै विद्यालयको खातामा जम्मा गरेर रोक्का राखेको छ। अहिले सो कार्यक्रमको नामसमेत परिवर्तन भएर ‘राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम’ भईसक्यो। तर गाउँपलिकाले आजसम्म कार्यक्रम सञ्चालन गर्न सकेको छैन।
गाउँपालिका अध्यक्ष रामप्रामोद यादवकै कारण भवन निर्माण प्रकृया अगाडी नबढेको विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरु बताउँछन्।
‘आर्थिक वर्षको अन्त्यमा रकम विद्यालको खातामा जम्मा भयो,’ नरहा गाउँपालिका ३ स्थित जनता आधारभुत विद्यालय बत्राहीका प्रधानाध्यापक रामकुमार यादवले भने, ‘त्यो वर्ष काम गर्ने समय नै रहेन, दोस्रो वर्षबाट हामीले पटक–पटक निर्माण प्रकृयाका लागि डिजान, स्टिमेट र कार्यादेश माग्यौं, आजसम्म पाइएको छैन।’
‘पहिलो पटक तपाईंहरु समिति बनाएर ल्याउनुस्, म आफै भवन निर्माण गरिदिन्छु भनेर अध्यक्ष यादवले भन्नु भयो, त्यसैमा विद्यालयहरुसँग कुरा मिलेन,’ प्रअ रामपरी यादवले थपिन, ‘त्यसपछि पनि पटक–पटक कुरा राख्रयौं, आजसम्म कार्यादेश नै दिनु भएको छैन। पछि प्रअ र विद्यालय व्यवस्थापन समितिले पालिका अध्यक्षलाई जसरी भएपनि वनाई दिनुस् भन्यौं, आजसम्म न कार्यादेश पाइएको छ नत निर्माण प्रकृया अगाडी बढ्यो।’
यो पटक पनि चाँडै कार्यादेश दिन्छु भन्नु भएको छ, अन्तिम समय हो काम हुन्छ की भन्ने आशमा छौं।
दिनाभद्री आधारभुत विद्यालयका निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष मोहरी सदायले पनि पालिका अध्यक्षले सुरुमा आफै भवन निर्माण गरिदिने भनेको बताए। उनले भने, ‘समिति बनाएर ल्याउनु म आफै भवन बनाईदिन्छु भन्नुभयो। हामीले आफै बनाउँछौं, भनेपछि काम अगाडी बढेन, पालिकामा पुगेरै पटक–पटक अध्यक्षलाई ताकेता गर्यौं चाँडै हुन्छ भन्नु हुन्छ, त्यो चाँडै अझै आएको छैन।’
पालिका अध्यक्ष यादवकै गाउँमा रहेको जनता आधारभुत विद्यालय जगदिशपुर कालाबञ्जरमा पनि २ कोठे भवनको लागि २२ लाख ५० हजार गएको छ। यहाँको पनि निर्माणकार्य आजको मितिसम्म सुरु भएको छैन। किन भवन यतिका दिनसम्म नबनसकेको हो? भनि विद्यालयका प्रअ प्रेमकली यादवसँग प्रश्न गर्दा उनले भनिन्, ‘हामीले पटक–पटक अध्यक्षलाई भनेकै हो, उहाँले चाँडै हुन्छ भन्नु हुन्छ। त्यो चाँडो अझै आएन। अरु त तपाईंहरुलाई पनि जानकारी नै होला मैले सवै कुरा के भन्ने।’
‘यो पटक बन्छ भन्नु भएको छ, प्रशासकिय अधिकृतले पनि चाँसो लिनु भएको छ। आशा गरौं बन्छ होला,’ प्रअ यादवले भनिन्।
गाउँपालिका अध्यक्ष रामप्रमोद यादवले भने केही विद्यालयको खातामा समस्या भएकोले भवन निर्माण प्रकृयामा ढिलाई भएको जिकिर गरे। उनले केही विद्यालयको खातामा समस्या भएको थियो, अव सवै मिलीसकेकोले चाँडै सुरुहुने बताए। तपाई आफैले विद्यालय भवनहरु बनाई दिन्छु भन्नुभएको रहेछ, के हो विषय? भनि प्रश्न गर्दा उनले ‘सवै रकम विद्यालयको खातामा गईसकेको छ, मैले गर्ने कुरै आउँदैन। त्यसमा पनि म कुनै घर बनाउने ठेकेदार हो र?’ भन्दै प्रतिप्रश्न गरे।
४–४ वर्षसम्म निर्माण नहुनुको कारण के हो नी? भनि पुनः प्रश्न गर्दा अध्यक्ष यादवले खातामा सस्या भएकोले हो भन्दै टारे।
गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्य कुमार कर्णले चारवटै विद्यालयको भवन निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा आफूले अध्ययन गरिरहेको बताए। उनले भने, ‘मैले यस विषयमा अध्ययन गरिरहेको छु, कसरी गर्ने भन्ने विषमा मैले बुझ्दै छु। अव चाँडै पालिकाले गर्नुपर्ने प्रकृया पुर्याएर निर्माणको कार्यादेश दिन्छौं।’
यतिको दिनसम्म किन निर्माण हुन सकेन? भन्ने प्रश्नमा उनले, ‘पहिला किन भएन भन्ने मलाई जानकारी छैन। म आर्थिक वर्षको अन्त्यतिर आएको हुनाले नियमित काममा सकाउनतिर लागे, अव म यसविषयलाई अध्ययन गर्दैछु। प्रकृया पुराएर चाँडै काम गर्ने अनुमति दिन्छु।’






















